डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा विपद् न्यूनीकरणबारे छलफल गरिएको छ ।
बुधबार पालिकाको प्रशासनिक भवनमा वर्षायाम सुरु भएसँगै सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जानकारी दिएको छ ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरको प्रमुख आतिथ्यमा आयोजित छलफल कार्यक्रममा स्थानीय सरोकारवाला, बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको सहभागिता रहेको थियो ।
छलफलमा वर्षायाम सुरु भएपछि नगर क्षेत्रभित्रका विभिन्न वडा क्षेत्रमा हुनसक्ने विपद्जन्य घटनालाई कसरी न्यूनिकरण गर्ने र प्रभावकारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुँवरले जानकारी दिए ।
उनका अनुसार बैठकले खोलानाला बढेका बेला सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्नुपर्ने र बजार क्षेत्र भित्र रहेको बसपार्क भित्र मात्रै सवारी साधन पार्किङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै बजार क्षेत्रमा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त समन्वयमा सवारी साधन व्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ ।
नगरपालिकाले वर्षायाममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकलाई सतर्क रहन तथा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह समेत गरेको छ ।










