डोल्पा। हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाले पालिका क्षेत्रभित्र सञ्चालन हुने सबै आयोजना तथा कार्यक्रम अनिवार्य रूपमा समन्वय गरेर मात्र सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्षको अन्त्यतिर संघीय सरकार, प्रदेश सरकार तथा अन्य विभिन्न निकायहरूले गाउँपालिकासँग समन्वय नगरी आयोजना तथा कार्यक्रम छनोट गर्ने, पालिकाले कार्यान्वयन गरिरहेका योजनाहरूमा दोहोरोपना सिर्जना गर्ने, निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको पुनः नापजाँच गरी प्रतिवेदन तयार पार्ने तथा भुक्तानीसमेत गर्ने जस्ता गतिविधि भइरहेको जानकारी पछि ध्यानाकर्षण गराउन बाध्य भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिए ।


उनका अनुसार पालिका क्षेत्रभित्र हाल सञ्चालन भइरहेका तथा आगामी दिनमा सञ्चालन गर्ने योजना रहेका संघीय तथा प्रदेश सरकारअन्तर्गतका निकायहरू, गैरसरकारी संस्था, निजी क्षेत्र तथा गैरनाफामूलक संघसंस्थाहरूलाई गाउँपालिकामा पूर्व जानकारी गराई सम्बन्धित आधिकारिक प्रतिनिधि तथा कर्मचारीको सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ।
गाउँपालिकाले आयोजना तथा कार्यक्रम सञ्चालन गर्दा कुनै पनि प्रकारको दोहोरोपना हुन नदिन तथा प्रभावकारी समन्वय कायम गर्न सबै सरोकारवाला निकायहरूलाई आफ्ना कार्यक्रमहरूको विस्तृत विवरणसहितको जानकारी गाउँपालिकामा अनिवार्य रूपमा उपलब्ध गराउन समेत अनुरोध गरेको छ।












