डोल्पा। डोल्पाको सदरमुकाम दुनै बजारस्थित जिल्ला अस्पताल लगायत विभिन्न क्षेत्र जोड्ने बेलिब्रिज आसपासका सडकमा रहेका खाल्डाखुल्डी सशस्त्र प्रहरीले मर्मतसम्भार गरेका छन्।
जिल्लामा अवस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्ममा कार्यरत सुरक्षाकर्मीहरूले विहानी समयको सदुपयोग गर्दै सडकका खाल्डाखुल्डी पुर्ने तथा मर्मतसम्भार गर्ने काम गरेको गुल्मपति दीपकराज भट्टले जानकारी दिए ।


उनका अनुसार बेलिब्रिज आसपास सडकको ठाउँ-ठाउँमा खाल्डा परेकाले सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो।

विशेषगरी सडकमा रहेका खाडलका कारण सवारीसाधनको तल्लो भाग सडकमा ठोक्किने हुँदा यात्रु तथा चालकले सास्ती बेहोर्नुपर्ने अवस्था आएपछि मर्मत सम्भार गरेको उनले बताए । सडकको अवस्था सुधार गर्न सशस्त्र प्रहरीले स्वस्फूर्त रूपमा मर्मतसम्भार गरेपछि यातायात आवागमनमा केही सहज भएको छ।

सुरक्षाकर्मीहरूले सडकमा मर्मतसम्भार गरेपछि स्थानीयवासीले यो कार्यको प्रशंसा गर्दै सडकको दीर्घकालीन स्तरोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।
सडक मर्मत सँगै सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्य र सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।











