पुर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पा र जन स्वास्थ्य सरोकार ट्रष्ट नेपालको संयुक्त आयोजना तथा ठूली भेरी नगरपालिकाको सहयोगमा आषाढ १ गते देखि ३ गते सम्म निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ।



३ दिन सम्म चल्ने निःशुल्क महिला स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य सम्बन्धी सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग परीक्षण, पाठेघर मुखको क्यान्सरको परीक्षण र स्तन क्यान्सर परीक्षण सहित सम्बन्धित विषयमा विशेषज्ञ चिकित्सकहरु द्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोल्पाका डा. अखण्ड उपाध्यायले जानकारी दिए।

यो शिविर डोल्पाका महिलाको लागि लाभदायी हुने र शिविरमा उपस्थित भै आफ्नो निःशुल्क स्वास्थ्य सेवा लाभ लिन स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध समेत गरेको छ।
शिविरमा जिल्ला अस्पताल डोल्पामा बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ।











