सुर्खेत— लोकसेवा आयोगको नायब सुब्बा (नासु) पदको द्वितीय पत्रको परीक्षा दिएर घर फर्कंदै गरेकी जाजरकोटकी सिर्जना गिरीको जीवन आइतबार भएको एक दुखद दुर्घटनासँगै समाप्त भएको छ।


२३ वर्षीया सिर्जना , जाजरकोटको छेडागाड नगरपालिका–८ की स्थायी बासिन्दा हुन् । आइतबार अपराह्न ४ बजेतिर इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाएकी उनी लोकसेवा आयोग, कोशी प्रदेशले सञ्चालन गरेको परीक्षा दिएर झापा हुँदै घर फर्कंदै थिइन्।
सिर्जनासँगै मोटरसाइकलमा सवार बझाङको बित्छडचिर गाउँपालिका–१ निवासी २६ वर्षीय मदनबहादुर बोहराको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका सिर्जना र मदनलाई तत्काल उद्धार गरी झापास्थित बीएन्डसी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको छ। इलाम जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सिर्जनाका साथीहरूका अनुसार उनी एक आशालाग्दो, मेहनती र अनुशासित युवती थिइन्। अध्ययन र सेवा प्रवेशको लागि उनले देखेको सपना अधूरै रह्यो। उनकी मृत्युले उनको परिवार, साथीहरू मात्र नभई सिंगो समाजलाई नै स्तब्ध बनाएको छ।
एमाले नेता निरज आचार्यका अनुसार सिर्जनाका आफन्तहरू इलाम पुगिसकेका छन् र प्रहरीसमक्ष जाहेरी दिने तयारीमा छन्। मृतक दुवै जनाको शव बीएन्डसी अस्पतालमा राखिएको छ।
छोरीको प्रतीक्षामा रहेका सिर्जनाका बाबुआमा अचानक मृत्युको खबरले शोकमा डुबेका छन्। उनीहरू छोरीको शव बुझ्न इलाम पुगेका छन्।
सिर्जना गिरी प्रति हार्दिक श्रद्धाञ्जली।











