डोल्पा :हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा गरिएको छ। मंगलबार ठुलीभेरी नगरपालिका स्वास्थ्य शाखा, जुफालको आयोजना तथा नगर प्रमुख सुवर्ण कुमार बुढाको अध्यक्षता र जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाको प्रमुख आतिथ्यमा पलिकालाई औपचारिक रूपमा पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो।



“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ठुलीभेरी नगरपालिकामा १५ महिना मुनिका सबै बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकारी दिए।

पालिकाका जनस्वास्थ्य निरीक्षक राजन कुमार डाँगीका अनुसार, नगरपालिका अन्तर्गतको जिल्ला अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित रूपमा खोप सेवा दिइँदै आएको छ। यदि कुनै बच्चा छुटेको खण्डमा २३ महिनाभित्र खोप सुनिश्चित गरिने व्यवस्था छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले पूर्ण खोप सुनिश्चितताको घोषणा पछि पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी कार्यक्रमलाई निरन्तरता दिइने बताए।

स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त व्यवस्थापक डा. सिजन रावलले पालिकाहरूको सहकार्यमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि श्याम बहादुर रोकायाले सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य भएकाले यसतर्फ लगानी बढाउनु आवश्यक रहेको धारणा राखे। साथै, उनले खोप कार्यक्रम निरन्तर चलिरहनु पर्नेमा जोड दिए।
पालिका लाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख सुवर्ण बुढा, उपप्रमुख छिरिङ टोल्मा महत, वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर भण्डारी, वडा नम्बर ९ का अध्यक्ष सुवास कठायत, आदर्श मावि जुफालका प्रधानाध्यापक बालकृष्ण डाँगी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत डोल्पाको ठुलीभेरी नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’को रूपमा घोषणा भएसँगै, पालिकाले खोप अभियानलाई थप मजबुत बनाउने र सबै बालबालिकालाई खोप सेवा पु¥याउने प्रतिबद्धता समेत जनाएको छ।
फोटो हेर्नुहोस :












