रुकुम पश्चिम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा अवस्थित वि.स. २०४२ सालमा स्थापना भएको स्यार्पु साना जलविद्युत आयोजना विग्रिएको ७० दिन नाघिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।
जलविद्युत आयोजना विग्रिएको यति लामो समय बितिसक्दा पनि स्थानीय सरकार, देखि प्रदेश सरकारले समेत चासो देखाएको छैनन ।


सोही विषयलाई जानकारी गराउँदै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका स-सचिव एबम् रुकुम पश्चिमका क्रियाशील सञ्चारकर्मी प्रचण्ड खत्रीले पूर्व अर्थ मन्त्री एबम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मालाई विद्युत मर्मतका लागि तत्काल पहल गरी सञ्चालनको लागि आवश्यक सहकार्य गरिदिन भन्दै ध्यानाकर्षण गराएका छन्। अहिले प्रतिनिधिसभा सदस्य ‘प्रभाकर’ सँग जनताले समस्या समाधानको अपेक्षा राखिरहेका छन्।
सहसचिव खत्रीका अनुसार, बाँफिकोट, मुसिकोट र रुकुमकोट क्षेत्रको उज्यालो यही आयोजनाबाट सम्भव भएको थियो। देशभर २० घन्टासम्म लोडसेडिङको मार खेपिएको समयमा पनि यो आयोजना मार्फत रुकुम जिल्ला उज्यालो रहँदै आएको थियो।
ठेकेदारको लापरबाही, विद्युत अवरुद्ध
चैत्र महिनाको अन्तिमतिर आयोजना बन्द हुनुको कारण पेनेस्टक पाइपमा क्षति पुग्नु हो। बाँफिकोट गाउँपालिका–४ बिरालेदेखि वडा–३ को जग्रासम्म सडक निर्माण भइरहेको छ। निर्माणका क्रममा टिप्परका ड्राइभरको लापरबाहीले आयोजनाको पेनेस्टिक पाइपमा क्षति पुगेको हो। सो पाइपमा पानी चुहिएपछि उत्पादन ठप्प भएको छ।
यसबाहेक, पेनेस्टिक पाइपका चार वटा पिलरमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ। तर, टिप्पर सञ्चालक र नेपाल विद्युत प्राधिकरण, रुकुम पश्चिमबीच क्षतिपूर्ति सम्बन्धमा विवाद हुँदा मर्मतको काम अघि बढ्न सकेको छैन।
इन्सोरेन्स र प्राधिकरणबीचको मतभेदले समस्या जटिल
प्राप्त जानकारी अनुसार, टिप्पर सञ्चालकले बीमा कम्पनीबाट ११ लाख रुपैयाँ बराबरको क्षतिको मूल्यांकन गराएका छन् भने विद्युत प्राधिकरणले क्षति ३० लाख रुपैयाँ बराबरको भएको दाबी गरेको छ। दुवै पक्षबीच सहमति नहुँदा आयोजना मर्मत कार्य अलपत्र परेको हो।
यद्यपि बाँफिकोट क्षेत्रमा अहिले केन्द्रिय विद्युत लाइन पुगेको छ, केन्द्रीय लाइनमा पनि दैनिक २ घण्टा मात्रै बत्ती आउने अवस्था रहेको छ। बाँकी २२ घण्टा लोडसेडिङको मारमा स्थानीय जनता छन्।
सहसचिव खत्रीले प्रतिनिधि सभा सदस्य शर्मा समक्ष आग्रह गर्दै भने ‘ एक समय सिङ्गो रुकुम उज्यालो बनाएको आयोजना यसरी बेवास्ता हुनु दुःखद छ। माननीय ज्युको पहलमा छिट्टै समस्या समाधान हुने आशा गरेका छौं।’











