पूर्ण सार्की/ सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब ३ बजेतिर वीरबहादुर थपाको खेतमा रोपाइँ गर्ने क्रममा अचानक चट्याङ पर्दा भेरीगंगा नगरपालिका ०८ कुइरेका २७ वर्षीय डिलबहादुर शाहीको गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सुर्खेतले जानकारी दिएको छ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनामा परी सोही ठाउँका १७ वर्षीय पर्बत बिक , १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीय सुनिता गिरी सामान्य घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा १० जना र अस्थायी प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगी घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मेहलकुना अस्पताल, सुर्खेत पठाइएको थियो।
अहिले घाइते उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ।











