सुर्खेत: सुर्खेतको बराहाताल गाउँपालिका–४ साजघाट रिङाउस्थित भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार अपरान्ह ३:४० बजे गस्तीमा खटिएको अस्थायी प्रहरी पोस्ट तरङ्गाको प्रहरी टोलीले अन्दाजी ३०–३२ वर्ष जतिको देखिने एक पुरुषको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
अहिले अस्थायी प्रहरी पोष्ट तरङ्गाका सहायक निरीक्षक रमेश कुमार थापाको नेतृत्वमा रहेको टोलीले घटनास्थलको सुरक्षा गरिरहेको छ भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक रविन्द्र सिंह कार्कीको कमाण्डमा (Scene of Crime Officer) टोली सहित ७ जना प्रहरी घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहन जंग बुढथापाले जानकारी दिए।


भेरी किनारमा भेटिएको शव भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेशका सवारी चालकको हुन सक्ने बताइएको छ। मन्त्रालयमा सवारी चालकको रूपमा कार्यरत दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका ०२ का अन्दाजी २८/२९ वर्षीय हिमबहादुर बिष्टको हुन सक्ने शंका गरिएको छ। विष्ट हाल सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीमा बसोबास गर्दै आएका थिए।
उनी गत असार ५ गते मन्त्रालयकै क.प्र.०२–००१ ब.००७२ नम्बरको मोटरसाइकल लिएर कोठाबाट निस्किएका थिए।
असार ६ गते बिहान “म बिरामी छु, अफिस आउन सक्दिन” भन्दै अफिसमा खबर पठाएपछि उनी सम्पर्कविहीन बनेका थिए।
पछि, हराएको मोटरसाइकल असार ९ गते बिहान सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुलबाट करिब ५० मिटर पूर्व, छिन्चु सडकखण्डको किनारमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। तर चालक हिमबहादुर बिष्टको मोबाइल फोन बन्द रहेको र उनी अझै सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
शवको पहिचान तथा हराएका व्यक्तिसँग मिल्छ कि मिल्दैन पुष्टि गर्न परीक्षण प्रक्रिया अघि बढाएको र अहिले आफन्तहरु समेत सनाखतको लागि घटना स्थल तर्फ जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।











