डोल्पा : डोल्पाको ठुली भेरी नगरपालिकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्षको अन्त्यसँगै भैरहेको पूर्वाधार निर्माण तथा भुक्तानी कार्यलाई तीव्रता दिन ठुलीभेरीले सार्वजनिक बिदाको दिनमा पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकारी दिए।


नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै असार २१ गते शनिबार बिदाको दिनमा समेत कार्यालय खुला रहने जानकारी दिएको छ। पूर्वनिर्धारित लक्ष्य प्राप्त गर्न, उपभोक्ता समितिहरू तथा निर्माण व्यवसायीहरूले समयमै विल र भर्पाइ बुझाउन सकून् भन्ने उद्देश्यले बिदाको दिन पनि कार्यालयलाई खुल्ला निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले बताए।
साथै, पालिकाले उक्त दिनमा सम्बन्धित सबै कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। कार्यालय सञ्चालनको जानकारी उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालाहरुलाई समेत दिइएको छ।












