पूर्ण सार्की/सुर्खेत: कर्णाली क्षेत्रका महिलाहरूको मौन पीडा र जीवनका बाध्यतालाई उतारेर तयार पारिएको मौलिक तीज गीत ‘कोरीबाटी चुल्ठी’ सार्वजनिक भएको छ। आईतबार अन्जु अधिकारी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले कर्णालीका महिलाहरूको सामाजिक, पारिवारिक र आर्थिक अवस्थाको मार्मिक चित्रण गरेको छ।



गीतमा प्रमुख मोडेलका रूपमा अन्जु अधिकारी देखिएकी छन् भने आवाज सुप्रसिद्ध गायिका अन्जु पन्तको रहेको छ। गीतका शब्दहरू कलाकार लक्ष्मण देवकोटाले लेखेका हुन्। भिडियो निर्देशन, निर्माण तथा अभिनयमा अधिकारी आफैं संलग्न रहेकी छन्।
हिमाली जिल्ला डोल्पाका विभिन्न गाउँ तथा बस्तीहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा स्थानीय परिवेश, संस्कृति र ग्रामीण जीवनशैलीलाई समेटिएको छ। भिडियोमा डोल्पाका विविध स्थलहरूको समेत अवलोकन गर्न सकिन्छ।

गीतले तीजको समय माइत जान नपाउने, पारिवारिक दबाब भोग्ने र आर्थिक अभाव खेपिरहेकी कर्णाली क्षेत्रकी महिलाको भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। साथै, स्थानीय प्रतिभालाई समेटेर ग्रामीण आवाजलाई संगीतमार्फत अघि सारिएको हो। हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर ल्याइएको यस गीतबाट विशेष गरी कर्णालीका महिलाहरूको अवस्थालाई देखाइएको छ।











