पूर्ण सार्की/सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, गैरीगाउँमा संचालनमा रहेको अवैध घरेलु मदिरा भट्टीमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ। प्रहरीले युक्त स्थानमा रहेको अवैध मदिरा नष्ट गर्दै घटनामा संलग्न एक जनालाई कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाएको छ।


गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बिहीबार बिहान करिब ११ बजे सो स्थानमा छापा मारी घटनास्थलबाट ३३ वर्षीय नवराज परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहन जंग बुढथापाले जानकारी दिए।
सल्यानको बागचौर नगरपालिका–२ का परियारले गैरीगाउँमा पवित्रा सुनारको घरमा डेरा गरी बसिरहेका थिए। उनले आफ्नै डेरा कोठामा घरेलु मदिरा तयारी, उत्पादन, भण्डारण र कारोबार गर्दै आएको पाइएको छ।
उनको कोठाबाट २० लिटरको २२ वटा बाल्टिनमा राखिएको कच्चा पदार्थ ३८५ लिटर र तयार मदिरा १५ लिटर गरी जम्मा ४०० लिटर अवैध मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट समेत गरिएको छ।
पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाउनका लागि आन्तरिक राजस्व कार्यालय वीरेन्द्रनगरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।











