डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा ट्रकको ट्यांकी वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन्।
बगर बजार स्थित रुकुमेली अटो पार्टस्मा वेल्डिङ भइरहेको भे १ ख ३६७८ नम्बरको ट्रकको ट्यांकी एक्कासी आगो लाग्दा रुकुमका २८ वर्षीय बेगम शर्मा र त्रिपुरासुन्दरी ०२ का २५ वर्षीय विजय थापा घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।


प्रहरीका अनुसार आगलागीका कारण शर्माको हात, खुट्टा र छाती गम्भीर रूपमा जलेको छ भने थापाको शरीरका केही भागमा जलन पुगेको छ।
घाइते दुवै जनालाई सुरुमा जिल्ला अस्पताल डोल्पा ल्याइएको थियो। अस्पतालका डाक्टर अखण्ड उपाध्यायका अनुसार थप उपचारका लागि उनीहरूलाई काठमाडौं रिफर गरिएको छ।
वेल्डिङको क्रममा सुरक्षाको पर्याप्त व्यवस्था नभएका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्रिपुराकोट प्रहरी चौकीको भनाइ छ।











