पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पा अझै पनि वर्षायाममा राष्ट्रिय सडक सञ्जालबाट टाढा रहेको पाइन्छ । भेरी करिडोर सडक खण्ड अन्तर्गत पर्ने यो खण्डमा सवारी आवागमनका लागि चाहिने अत्यावश्यक बेलिब्रिज र पक्की पुल निर्माण नहुँदा डोल्पाका नागरिक वर्षायाममा सडक सम्पर्कविहीन बन्दै आएका छन्। यो सडक निर्माणका नाममा चर्को तामझाम गरिएको भए पनि व्यवहारिक रूपमा डोल्पा अझै ‘आंशिक रूपमा मात्र’ सडक सञ्जालमा जोडिएको छ।


२०७५ साल मंसिर महिनामा तत्कालीन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कान्छी बजारमा गरिएको एक औपचारिक कार्यक्रमबाट सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालसंग औपचारिक रूपमा जोडिएको घोषणा गरेका थिए।
भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०१ कान्छीबजारसम्म नेपाली सेनाले निर्माण गरेको १०३ किलोमिटर सडक र त्रिपुरासुन्दरी ०१ को कान्छी बजार देखि सदरमुकाम दुनै सम्म स्थानीय निकायले बनाएको थप १४ किलोमिटर सडक ट्रयाक खोलेर डोल्पालाई राष्ट्रिय सडक सञ्जाल संग जोडिएको घोषणा गरिएको थियो।
तर, घोषणा भएको ७ वर्ष पुग्न लाग्दा समेत पनि यो सडक खण्डमा पर्ने प्रमुख खोलानालाहरु न त पक्की पुल बनेका छन्, न त बेलिब्रिज नै निर्माण सम्पन्न भएका छन्। अहिले जसका कारण वर्षायाममा ती खोलाहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ।
‘डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडियो’ भन्ने सरकारी घोषणाबाट सात वर्ष पुगीसक्दा पनि व्यवहारिकरूपमा सडक पहुँच अझै अधुरो छ। न बेलिब्रिज छन्, न पक्की पुल। स्थानीय बासिन्दाहरू अझै पनि वर्षायाममा देशसँगको सम्बन्ध विच्छेद भएर बस्न बाध्य छन्’।
वर्षा लागेपछि सधै राष्ट्रिय सडक सञ्जाल संग सम्पर्क विच्छेद
डोल्पाका नागरिकका अनुसार वर्षायाम सुरु भएपछि डोल्पा पुग्न झन्डै ६ पटक सवारी साधन फेर्नु बर्ने बाध्यता छ। कच्ची सडकर खोलानाला सुकेको बेला हिउँदमा त जसो तसो गाडी डोल्पा पुग्छन् तर वर्षा यामको सुरुवाती देखि पानी परेपछि खोला माथि बनेका झोलुङ्गे पुल देखि हिँडेर वारपार गर्नु पर्ने हुन्छ।

डोल्पा बासीका अनुसार सडक खोलिएको भन्दै सरकारले उद्घाटन त गर्यो, तर सडक सञ्चालनका लागि आवश्यक पूर्वाधार भने अझै पूरा गरेको छैन।
डोल्पा पुग्ने सबै यात्रुहरूका अनुभवहरुले पनि यही यथार्थ बोल्छ। जाजरकोटबाट डोल्पा पुग्न चारदेखि छ वटा सवारी फेर्नुपर्ने बाध्यता हुन्छ। बाटोभरि कहिले जिप त कहिले पैदल यात्रा गर्नुपर्ने स्थिति छ।
‘सडक बन्यो भन्दैमा हिँड्न मिल्ने भन्ने होइन, जबसम्म खोलामा पुल हुँदैन, डोल्पा त अझै पनि टाढै छ’
करिडोर भित्र पर्ने जाजरकोटको चौखा, तातरगाड, लगाएतका साना खोलानाला सगै रुकुम पश्चिमको मुलातार र दामाचौर स्थितका खोला नाला र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ०१ स्थित छलगाड , चु गाड लगाएतका खोलामा अहिले सम्म नत पक्की पुल बनेका छन् नत बेलिब्रिज नै। यी ठाउँमा सरकारको ध्यान नजाँदा डोल्पा बासीले सधै शास्ती खेप्दै आइरहेका छन्।
वर्षायाममा सडक सञ्जालमा व्यवहारिकरूपमा नजोडिएपछि डोल्पामा खाद्यान्न, इन्धन, औषधि र निर्माण सामग्रीको ढुवानी अझै पनि कठिन छ। दैनिकी उपभोग्य सामग्री बोक्ने मालबाहक ट्रक समेत सीधा डोल्पा नपुग्दा खाद्यान्न लगायतका साधनहरूमा महंगी बढ्न थालेको छ। स्वास्थ्य आपतकालीन अवस्थाका बिरामीलाई सदरमुकाम वा नेपालगञ्ज लैजान समेत कठिन हुने गरेको डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले बताए।उनले भने, ‘ वर्षायाममा बीमारीलाई नेपालगञ्ज, सुर्खेत लगायतका शहरहरूमा पुग्न निकै कठिन हुन्छ, जहाजको पनि भर हुँदैन , एउटा विमारीले ५/६ ठाउँमा गाडी फेर्नु पर्ने वाध्यता छ ‘ ।
सडक अभावले डोल्पाको जडीबुटी, कृषि उत्पादन र पर्यटन व्यवसायमा समेत ठूलो असर परेको स्थानीय व्यवसायीहरू बताउँछन्। सडक खण्डका कारण वर्षायाममा डोल्पा पुग्ने पर्यटकको संख्या समेत कमी हुन्छ। आएका पर्यटक पनि सडकका कारण रुष्ट भै वर्षायाममा डोल्पा नजान आग्रह गर्छन् ।
पक्की पुल निर्माणमा चुस्त, बनेका बेलिब्रिज समेत जीर्ण
सडकमा पर्ने खोलाहरूमा झण्डै ९–१३ वटा पक्की पुल आवश्यक देखिए पनि हालसम्म निर्माण प्रक्रिया सुरु भएको देखिँदैन। केही स्थानमा बेलिब्रिज लगायत पक्की पुलको लागि सर्वेक्षण भए पनि काम अघि बढेको छैन। करिडोरको डोल्पा सडक खण्ड भित्र पर्ने केही खोलाहरु बेलिब्रिज निर्माणगरेर सवारी आवतजावत गराइयो।
बेलिब्रिज बनेका खोला नालाहरुमा पक्की पुल निर्माणको लागि सरोकारवाला निकायहरु द्वारा खासै चाँसो देखिएको देखिँदैन। डोल्पाको रूपगाड, त्रिपुराकोट बगर स्थित भेरी नदी माथि बनेको बेलिब्रिज, खदाङ, करवगाडमा र जाजरकोटको तल्लुबगर स्थित बनेको बेलिब्रिज नै जीर्ण बन्दै गइरहेका छन्। छलगाड र तल्लुमा पक्की पुल निर्माणको काम सुरु भएपनि गति लिन सकेको छैन भने खदाङमा उपयुक्त ठाउँमा पुल निर्माणको काम नहुने देखेपछि त्यहाँका स्थानीयले अवरोध गरिरहेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका योजना कागजमा सीमित देखिएको छ। नेपाली सेनाले ट्रयाक खोलेपछि स्थानीय तहले केही मर्मत गरे पनि खोलामा पुल नहुँदा समग्र यातायात प्रणालीले गति लिन सकेको छैन।











