काठमाण्डौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय व्यय विवरण सार्वजनिक गरेको छ । क्यानले पहिलो सिजन २ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ।



क्यानले बिहीबार बोर्ड बैठकपछि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ।
आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ।
शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि आम्दानी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जनाएकाे छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ।
क्यानका अनुसार आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ।











