डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट स्थित हिमज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शुक्रबार शैक्षिक अवलोकन भ्रमण गरेका छन्।



विद्यालयले स्थानीय पाठ्यक्रम ‘हाम्रो त्रिपुरासुन्दरी’ अन्तर्गत विद्यार्थीहरुलाई त्रिपुरासुन्दरी–७ पाहाडा स्थित मसीनेचौर विमानस्थलमा त्यहाँको स्थिति बुझ्न भ्रमणको आयोजना गरेको थियो।

वर्षौं अघि निर्माण सम्पन्न भएर पनि परीक्षण उडान समेत हुन नसकेको मसीनेचौर विमानस्थलमा विद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी भएको भ्रमणले विमानस्थल सञ्चालनको आवश्यकता र महत्वबारे जनचेतना बढाउने उद्देश्य सहित शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका प्रधानाध्यापक मनबहादुर सार्कीले जानकारी दिए।

निर्माण कार्य सम्पन्न भएको वर्षौ बित्दा समेत जहाज नदेखेको युक्त विमानस्थल अहिले जीर्ण अवस्थामा छ। गौचरण , सडक खण्ड लगायत खेलकुद मैदानको रूपमा प्रयोग भइरहेको युक्त विमानस्थलमा राज्यले खासै ध्यान पुर्याउन सकेको छैन।

विद्यालयले विद्यार्थीहरुलाई बन्द कोठा भित्र मात्र नभई बाहिरी ज्ञान प्रदान गर्न समेत यस्ता शैक्षिक अवलोकन भ्रमणलाई निरन्तरता दिइरहेको छ।

भ्रमणकै क्रममा मसीनेचौर विमानस्थल पुगेका हिमज्योति आविको टीमलाई त्रिपुरासुन्दरी ८ स्थित देउराली आधारभूत विद्यालयले आफ्नो विद्यालयमा बोलाई स्वागत समेत गरेको थियो । स्वागत कार्यक्रममा दुई विद्यालयले आपसी सम्बन्ध बलियो बनाउने प्रतिबद्धता समेत गरेका छन्।

विमानस्थल मात्रै नभई विद्यार्थीहरुले बाटोमा विभिन्न रमणीय, पर्यटकीय स्थलहरूको समेत अवलोकन गरेका छन। विमानस्थल देखि त्रिपुरासुन्दरी कै लीकु, पाहाडा, चु, हुम , बन्तदी लगएतका सुन्दर बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

अवलोकन भ्रमणमा विद्यार्थीहरुले विमानस्थल कहिले बन्यो, त्यहाँ किन जहाज आएन, त्यहाँका अवस्था के छ र विमानस्थल निर्माणमा युक्त ठाउँका स्थानीयले के कस्तो योगदान गरे भन्ने विषय पनि त्यहाँका स्थानीय सग जानकारी समेत लगेका थिए। साथै विद्यार्थीले विमानस्थलको सुरक्षा लागि रहेको प्रहरीलाई समेत विमानस्थलको विषयमा चासो राखेका थिए।











