डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा सोमबार बजार अनुगमन गरिएको छ।
पालिकाकी उप प्रमुख देवी घर्तीको संयोजकत्वमा भएको अनुगमनमा पालिकाको केन्द्र समेत रहेको बगर बजार भित्र संचालित विभिन्न पसल तथा व्यवसायहरूमा अनुगमन गरिएको हो।



अनुगमनको क्रममा ५४ हजार ९ सय २० हजार रुपैयाँ बराबरका म्याद गुर्जेका सामान बरामद गरी नष्ट गरिएको नगरपालिकाका सूचना अधिकारी डा. हेमन्त शाहीले जानकारी दिए।

म्याद गुर्जेका बरामद सामानहरूमा विभिन्न प्रकारका प्राउन्ड, चिजबल, भ्यासलिन, सोडा, बिस्कुट, सस, मेहेन्दी, सेनेटरी प्याड, कपाल तेल, मसला, जिरा, पापड, भुजा, मैदा लगायतका वस्तुहरू रहेका थिए।

सबैभन्दा बढी म्याद गुर्जेको मैदा बरामद भएको र बरामद गरिएका सम्पूर्ण वस्तुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी त्रिपुराकोट प्रहरी चौकीमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
पालिकाले बजार भित्र संचालित प्रेस हाउस, होटल व्यवसायहरुको अवस्थाको बारेमा समेत अनुगमन गरेको छ।

पालिकाकाले नगर पालिका भरी संचालित सम्पूर्ण होटल, व्यवसायहरुलाई दर्ताको प्रमाण पत्र र मूल्य दर रेट देखिने ठाउँमा राखी सामान बिक्री वितरण गर्न सुझाव समेत दिएको छ।
यो सूचना पनि हेर्नुहोस्

नगरपालिकाद्वारा संचालित बजार अनुगमनमा उप प्रमुख घर्ती, सूचना अधिकारी डा. शाही, कृषि अधिकृत दीपेन्द्र ऐडी, पशु प्राविधिक प्रदीप बाबु ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तुल बहादुर श्रेष्ठ , जय प्रकाश साह (सव इन्जिनियर), राहुल कुमार यादव (सव इन्जिनियर), त्रिपुराकोट प्रहरी चौकीका नायब निरीक्षक याम बहादुर बस्नेत, नगर पालिकाका नगर प्रहरी, त्रिपुराकोट बगर बजार व्यवस्थापन समितिका पदाधिकारीहरु लगाएतको उपस्थितिमा बजार अनुगमन गरिएको थियो।

नगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तिव्रता दिएको छ। सोही क्रममा, त्रिपुराकोट बगर बजारमा सञ्चालनमा रहेका सबै व्यवसायहरूलाई १५ दिनभित्र व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्न निर्देशन समेत दिइएको नगरपालिकाकी उपप्रमुख घर्तीले जानकारी दिएकी छन् ।












