डोल्पा। हिमाली जिल्ला डोल्पाका पाँच पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा शाखा अधिकृतहरुलाई सरुवा गर्दै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।
यो सँगै डोल्पाका २ नगरपालिका र ३ गाउँपालिकामा गरी पाँच पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ। डोल्पाका २ नगरपालिकामा उप-सचिव र ३ गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।


लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वा अन्तर्गतका उपसचिव नोखिराम ओलीलाई त्रिपुरासुन्दरीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएर पठाइएको छ।यहाँ अहिले शिक्षा अधिकृत भीम बहादुर थापाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालिरहेका छन्।

यस्तै ठुलीभेरी नगरपालिकामा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वा अन्तर्गतका उपसचिव लाल बहादुर गुरुङलाई पठाइएको छ। यहाँ डील प्रसाद रोकायले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालीरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व अन्तर्गतका शाखा अधिकृत विनय खड्कालाई जगदुल्ला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। यहाँ खगेन्द्र ऐडीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालिरहेका छन्।

गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरी प्रसाद देवकोटालाई काइके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाईएको छ। यहाँ ई. भोजराज जोशीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालिरहेका छन्।

त्यस्तै छार्का ताङ्सोङ गाउँपालिकामा बन तथा वातावरण मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत नारायण रायमाझीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। यहाँ अमर राज सेजुवालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालिरहेका छन्।
संघीय मामिला तथा प्रशासन मन्त्रालयले बिहिबार एकै पटक ९७ जना शाखा अधिकृत र १२२ जना उप-सचिवहरुलाई सरुवा गर्दै देशभरका रिक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।











