पूर्ण सार्की/सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेनजीहरूकाे प्रदर्शन नियन्त्रण बाहिर गएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपरान्हदेखि वीरेन्द्रनगरमा कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् ।


प्रदर्शनकारीहरूले कर्णाली प्रदेशका सरकारी कार्यालय, प्रदेश सभा जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरूकाे घरसम्म आगजनी गरेका छन् ।

अहिले प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुलाई मुख्य योजना बनाएका छन्। आन्दोलनको सुरुवातको दिनमा शान्त बनेको कर्णालीमा दोश्रो दिन भने आन्दोलनले उग्र रुप लिएको छ।

निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक अवस्थामा देखिएका छन् । मुख्यमन्त्री यामलाल कँडेल, पूर्व रक्षा मन्त्री पूर्ण बहादुर खड्काको घर ताेडफाेड भै आगलागी हुँदा प्रहरीले हवाई फायर पनि गरेकाे छ ।

प्रदर्शनकारीहरुले वीरेन्द्रनगर स्थित अख्तियार अनुसन्धानको कार्यालय, वीरेन्द्रनगर नगरपालिका लगायत अन्य सरकार कार्यालयहरु रहेका भवन तोडफोड तथा आगलागी गरेका छन्।

सुर्खेत स्थित नेपालि कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका अन्य पार्टीका पार्टी कार्यालयहरु पूर्ण रूपमा आगलागीमा परी ध्वस्त भएका छन्।

स्थिति नियन्त्रण लिन प्रहरी लगातार अश्रु ग्यास प्रहार गरिरहे पनि नियन्त्रणमा आउन सकेको छैन । प्रहरीले अहिले गोलि प्रहार समेत गरिरहेको छ। प्रहरी गोली लाग्दा एक जनाको ज्यान समेत गुमाउनु परेको छ।











