काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको शाेकमा आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवाको आन्दोलनमा कम्तीमा ७२ जनाको ज्यान गएको थियो। उनीहरूको स्मृतिमा यही भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।


सरकारी निर्णयअनुसार आज नेपालभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहेका छन्। साथै राष्ट्रिय झण्डा आधा झुकाइएका छन्।
मृतकहरूको मंगलबार काठमाडौंस्थित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिएको थियो। साथै केही युवाहरूको शव उनीहरूको गृह जिल्ला पुर्याई अन्त्येष्टि गरिएको छ।











