डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोटमा अवस्थित श्री हिमज्योति आधारभूत विद्यालयले आफ्नो ३१ औँ वार्षिक तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ।
बिहीबार त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र कुलालको प्रमुख आतिथ्यतामा विद्यालयले विभिन्न आकर्षकका सांस्कृतिक कार्यक्रमका साथ आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको हो ।



२०५१ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समस्या गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयले त्रिपुरासुन्दरीमा मात्र नभई सिंगो जिल्ला भरनै आफ्नो छुट्टै पहिचान बनाइरहेको छ ।
कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा अहिले झण्डै सय बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। स्थापना कालमा त्यहाँको दलित समुदायका बालबालिकाहरुको लागि मात्रै भनेर स्थापना गरिएको विद्यालयमा अहिले सबै वर्गका विद्यार्थीहरुको प्रमुख रोजाइ बनिरहेको छ।

विद्यालयले हरेक वर्ष झै यो वर्ष पनि आफ्नो वार्षिक उत्सव भव्य रूपमा मनाएको विद्यालयका प्रधानाध्यापक मन बहादुर सार्कीले रंगीन पाटीलाई जानकारी दिए।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा अध्यनरत साना साना बालबालिकाहरुले सुन्दर नृत्य सहित आएका पाहुनाहरुलाई स्वागत तथा सम्मान गरेका थिए।

वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापकले आ.व २०८१/८२ को सार्वजनिक सुनुवाइ तथा वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । साथै विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष कुलाललाई विद्यालय परिवारले दोसल्ला ओढाइ सम्मान गरेको थियो ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा आएका अतिथिहरूले विद्यालयको प्रगतिमा निरन्तर सहयोग गर्ने शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय परिवारले विद्यालयको वार्षिकोत्सव कार्यक्रम लगायतका विषयमा हरपल सहयोग अनि सहकार्य गर्ने सम्पूर्ण अभिभावक, अतिथि तथा सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष कुलाल, शैक्षिक स्रोत व्यक्ति नवीन कुमार शाही, नगरपालिकाका शिक्षा प्रतिनिधि धन रोकाया, मुकुटेश्वर माविका फुल्चिङका सहायक प्रधानाध्यापक गंगाराम कठायत, विभिन्न विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य संघ त्रिपुरासुन्दरी नगरसमितिका अध्यक्ष पुर्णकेशर न्यौपाने, मदरल्यान्ड फोक्सुन्डो एकेडेमीका प्रधानाध्यापक हरिचन्द्र हमाल लगायत विशिष्ट अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।











