सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छिन्चु बसपार्क अझै निर्माण हुन सकेको छैन।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा निर्माणाधिन सुविधा सम्पन्न बसपार्क निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि काम आधा मात्रै सम्पन्न भएको छ । २०७९ मंसिर २८ गते तामझामसहित शिलान्यास गरिएको बसपार्क निर्माण सुस्त गतिमा अगाडि बढ्दा यात्रु, व्यवसायी र स्थानीयवासी अहिले मारमा परेका छन् ।



यात्रुका लागि प्रतीक्षालय, टिकट काउन्टर, चालक–सहचालकका लागि विश्रामस्थलजस्ता आधारभूत सुविधा नहुँदा छिन्चु बजार अस्तव्यस्त भएको छ । अहिले जथाभावी पार्किङ, सुक्खा सिजनमा धुलो, धुवाँ र वर्षामा हिलोका कारण छिन्चु बजारको सौन्दर्यता हराएको छ । यो बसपार्क देखि दैनिक करिब १० हजार यात्रु ओहोरदोहोर गर्ने भए पनि सुविधा भने शून्य छ ।
२०७९ असारमा ११ करोड ७६ लाख रुपैयाँमा बाँकेको ग्रान्ड डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको बसपार्क निर्माण कार्य दुईपटक म्याद थप्दा पनि समयमै सक्न सकेको छैन । सम्झौता अनुसार बसपार्कको निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको बसपार्क ३ वर्ष हुँदा समेत ५० प्रतिशत मात्रै काम भएको छ । कम्पनीले हालसम्म ३ करोड ८० लाख भुक्तानी पाइसकेको छ ।
भेरीगंगा नगरपालिका इन्जिनियर गणेश कार्कीले डिजाइनसम्बन्धी समस्या र निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको जानकारी दिएका छन् ।
निर्माण कार्य सुरु गरिएको केही समय सम्पर्कविहीन बनेको कम्पनीलाई नगरप्रमुख यज्ञप्रसाद ढकाल आफैं नेपालगन्ज पुगेर बोलाएर ल्याएका थिए ।
अहिले निर्माण कम्पनीले जेठयता काम तीव्र गतिमा भइरहेको र आगामी मंसिरदेखि पुसभित्र बसपार्क सम्पन्न गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख ढकालका अनुसार बजेटमा कुनै कमी नरहेकाले यस आर्थिक वर्षभित्र काम सकाएर बसपार्क सञ्चालनमा ल्याई सर्वसाधारणलाई नयाँ बसपार्क देखि सेवा पहुंच गर्ने तयारी नगरपालिकाले गरेको छ ।











