काठमाण्डौं: अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आईतबार साँझ सिफारिस गरेकी हुन् ।


सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज सोमबार राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरेकी छन् ।सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
प्रधानमन्त्री कार्कीले अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएकी थिइन् ।
यस्तै पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।
पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।
डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्रीमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् । डा. परियारले तत्कालीन राज्य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका थिए । वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।
पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका थिए ।पछिल्लो समय उनलाई वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा दिइएकोमा उनले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् ।











