सुर्खेत : नेकपा (एमाले) काे ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशकाे तर्फबाट पहिलो पटक केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व भएको छ ।
११ औँ महाधिवेशनबाट कर्णाली देखि प्रतिनिधित्व गर्दै कर्णालीका मुख्यमन्त्री समेत रहेका यामलाल कँडेल ११८५ मत सहित केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् ।


नेकपा एमालेमा उनको यस जितलाई कर्णालीका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। कर्णाली देखि नेकपा एमालेबाट केन्द्रीय पदाधिकारीमा निर्वाचित भएको यो पहिलो पटक हो। उनी अघि अहिले सम्म कोही पनि एमालेको केन्द्रीय पदाधिकारीमा अटाएका थिएनन् ।

लामो समयदेखि एमालेको पार्टी संगठन सुदृढीकरण, जनसेवा र विकास निर्माणमा सक्रिय रहँदै उनको नेतृत्व, अनुभव र योगदानको उच्च मूल्याङ्कन गर्दै महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन् ।
१०औं महाधिवेशनसम्म आइपुग्दा एमालेको राष्ट्रिय राजनीतिमा अन्य प्रदेशको उपस्थिति बलियो बनिसक्दा पनि कर्णाली भने सधैं उपेक्षित नै थियो । १०औं महाधिवेशनमा पनि कँडेलले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा केपी ओलीको लिस्टमा उनी नपरेपछि सिंगो कर्णाली रित्तो हात फर्किएको थियो ।
त्यसपछि भने एमाले कर्णालीका नेताहरूले पटक-पटक पार्टी केन्द्रका शीर्ष नेताहरूलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आएका थिए । जनमत र साङ्गठनिक रूपमा बलियो नै रहे पनि कर्णालीले अहिलेसम्म एमालेको राष्ट्रिय पदाधिकारी पाउन सकेको थिएन ।
पटक-पटक दाबी नगरेको पनि होइन, तर ठुला नेताहरूको उपेक्षाका कारण नै कर्णाली पदाधिकारीमा अटाउन नसकेको गुनासो यहाँका नेताहरू गर्थे । अन्य राजनीतिक दलहरू जस्तै कांग्रेसले उपसभापति, माओवादीले (हाल नेकपा) उपमहासचिवसम्म पाइसक्दा एमालेले भने उच्च पद पाएको थिएन ।
यस जितसँगै कर्णाली प्रदेशको आवाज पार्टीको केन्द्रीय तहमा अझ सशक्त रूपमा प्रस्तुत हुने विश्वास सँगै पार्टीभित्र समावेशिता, क्षेत्रीय सन्तुलन र नेतृत्व विकासको दृष्टिले समेत यो जितलाई महत्वपूर्ण मानिएको छ।
मुख्यमन्त्री कँडेल सचिवमा निर्वाचित भए सँगै पार्टी संगठन थप बलियो बन्ने र मुलुकको समग्र विकासमा सकारात्मक योगदान पुग्ने कर्णालीका नेताहरु बताउँछन् ।
उनी सचिवमा निर्वाचित भए सँगै विभिन्न राजनीतिक दल, शुभेच्छुक, समर्थक तथा कर्णालीवासीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।











