रुकुम पश्चिम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको एक विद्यालय भ्रष्टाचार गरेको आरोपमा ८ जना विरुद्ध मुद्धा दायर गरेको छ ।
जिल्लाको मुसिकोट खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा ८ जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।


अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल, मुसिकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का, लेखापाल ठगबहादुर बुढाथोकी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, नगरपालिकाका तत्कालीन सूचना प्रविधि अधिकृत गोपाल ओली तथा तुलसीपुर, दाङस्थित डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका सञ्चालक शिवप्रसाद श्रेष्ठ विरूद्ध मुद्धा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षाकोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत खरिद गरिएको भनिएका ल्यापटप, स्क्यानर, प्रोजेक्टर, ब्याट्री लगायतका सामग्री विद्यालयमा आपूर्ति नगरी ४ लाख ८८ हजार ८ सय ११ रुपैयाँ दुरुपयोग गरिएको पाइएको छ।
यस्तै, आईसीटी सामग्री सञ्चालनका लागि तालिम सञ्चालन गरिएको भनी झुट्टा विल भरपाई तयार गरी २ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको आरोप छ। यससँगै कुल ७ लाख ८ हजार ८ सय ११ रुपैयाँ अनियमितता भएको आयोगले जनाएको छ।
त्यसैगरी, विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको ५४ हजार ८ सय ८१ रुपैयाँ बैंक दाखिला नगरेको, बेरुजु फर्छ्यौटका नाममा २ लाख १२ हजार ६१ रुपैयाँ हिनामिना गरेको तथा बिना उद्देश्य एक लाख रुपैयाँ झिकिएको समेत आरोपपत्रमा उल्लेख छ।
समग्रमा १० लाख ७५ हजार ७ सय ५३ रुपैयाँ बराबरको हिनामिना, हानि नोक्सानी तथा दुरुपयोग भएको आयोगको दाबी छ।
आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम असुलउपर गर्ने मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।











