सुर्खेत। सुर्खेतमा बिदाका दिन अनुमतिबिना सञ्चालनमा आएका सरकारी सवारी साधनमाथि प्रहरीले कडाइ थालेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी इकाइले संयुक्त रूपमा टोली परिचालन गरी त्यस्ता सवारी साधनहरू नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एकै दिन झण्डै एक दर्जन साना तथा ठूला सरकारी सवारी साधन कारबाहीमा परेका छन्। सार्वजनिक बिदाको दिन सवारी पास बिना आवतजावत गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
उनका अनुसार सुर्खेतका विभिन्न स्थानबाट सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो। सार्वजनिक बिदाको दिन सवारी पास नलिई सञ्चालनमा रहेका विभिन्न सरकारी कार्यालयका सवारी साधनलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि कार्यालयमै राखिएको प्रहरीले जनाएको छ।
विश्व बजारमा देखिएको इन्धन अभाव र मूल्यवृद्धिको प्रभावलाई ध्यानमा राख्दै सरकारले तेल खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने नीति लागू गरेको छ। तर उक्त नीतिको उल्लङ्घन गर्दै केही सरकारी कर्मचारीहरूले सवारी साधन प्रयोग गरिरहेको पाइएपछि प्रहरीले निगरानी बढाएको जनाएको छ।











