डोल्पा । हिमाली जिल्ला डोल्पाको चुगाँड खोलामा मालबाहक ट्रक फस्दा अवरुद्ध भएको सडक खण्ड खुलेको छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका ०९ स्थित चुगाँड खोलामा सोमबार बिहान मालबाहक ट्रक फसेपछि अवरुद्ध भएको भेरिकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड राति ११ बजे खुलाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।


सडक अवरुद्ध भई यातायात ठप्प र यात्रुहरु अलपत्र परेको जानकारी पश्चात अवरुद्ध ट्रकलाई हटाई सडक खुलाउन प्रशासनको पहलमा डोजर पठाइएको थियो ।
उक्त ठाउँमा ट्रक फसेर सोमबार बिहानदेखि सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिँदा डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू अलपत्र परेका थिए ।
डोजरको प्रयोगमा मध्यराती फसेको ट्रक हटाएसंगै मंगलबार बिहानदेखि सवारी साधन आवतजावत भैरहेको प्रशासनले जानकारी दिएको छ ।











