बुधबार , जेठ २७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा सञ्चालित विभिन्न विकास योजनाको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे सामाजिक विकास कार्यालयले स्थलगत अनुगमनलाई तीव्रता दिएको छ।

आइतबार सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख दुर्गा विष्टसहितको टोलीले जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका भित्र सञ्चालनमा रहेका विभिन्न योजनाको अनुगमन गरेको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा त्रिपुरासुन्दरी नगरपालिका-०१ रल्लीगाउँस्थित महाकवि आधारभूत विद्यालयमा निर्माणाधीन चार कोठे विद्यालय भवन, सोही वडाको कलेरीकाँडामा निर्माणाधीन धार्मिक विद्यालय, त्रिपुरासुन्दरी-१० स्थित लिकु संयुक्त क्याम्पसको घेराबार तथा वडा नं. ०९ स्थित जनप्रिय आधारभूत विद्यालयमा निर्माण गरिएको घेराबार योजनाको निरीक्षण तथा अनुगमन गरिएको हो।

सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख विष्टले आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर कार्यालय मातहत सञ्चालित योजनाहरूको प्रभावकारी कार्यान्वयन, निर्माणको गुणस्तर तथा प्राविधिक मापदण्ड पालना भए-नभएको विषयमा विशेष ध्यान दिँदै प्राविधिकसहितको टोलीबाट नियमित अनुगमन भइरहेको जानकारी दिए ।

प्रमुख विष्टले चालु आर्थिक वर्षमा कार्यालय मातहत रहेका २७ वटा आयोजनामध्ये हालसम्म ९ वटा आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी आयोजनाहरू अन्तिम चरणमा रहेको जानकारी दिए।

‘सबै योजनाको काम असार १५ गतेभित्र सम्पन्न गरी असार २० गतेभित्र आवश्यक कागजातसहित भुक्तानी प्रक्रियामा आउन सम्बन्धित पक्षलाई जानकारी गराएका छौँ,’ उनले भने।

उनका अनुसार कार्यालयले जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा हालसम्म १३ वटा योजनाको स्थलगत अनुगमन सम्पन्न गरिसकेको छ भने ३ वटा योजनाको भुक्तानी प्रक्रिया समेत पूरा भइसकेको छ।

अनुगमनका क्रममा अधिकांश योजनाहरू प्राविधिक मापदण्डअनुसार नै निर्माण भइरहेको पाइएको र निर्माण कार्यलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझाव तथा निर्देशनसमेत दिइएको उनले जानकारी दिए।

कार्यालयले निर्धारित समयभित्र गुणस्तरीय रूपमा योजना सम्पन्न गराउन नियमित अनुगमन, सहजीकरण तथा आवश्यक समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP