डोल्पा । हिमाली जिल्ला डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन हुन सकेको छैन । रास्वपाले देशभर जिल्ला अधिवेशन सम्पन्न गरेर प्रदेश तथा केन्द्रीय अधिवेशनको तयारी गरिरहँदा डोल्पामा भने जिल्ला अधिवेशन कहिले हुने भन्ने विषयको टुंगो लागेको छैन ।
कर्णाली प्रदेशका अधिकांश जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि डोल्पामा पार्टी अझै तदर्थ समितिकै भरमा सञ्चालन भइरहेको छ। रास्वपाले गत वैशाखमा मात्रै देवसिँ ऐडीको नेतृत्वमा जिल्ला तदर्थ समिति गठन गरेको थियो।


भर्खर मात्र तदर्थ समिति गठन भएकोले तत्काल जिल्ला अधिवेशन गराउन नसकेको सभापति ऐडीले बताए ।
‘तदर्थ समिति गठन भएको एक महिना मात्रै भयो । हामीले जिल्लामा वडा देखि पालिका कमिटी समेत गठन गरेका छैनौं’ उनले भने ‘केन्द्र सँगको समन्वयमा पछि गर्ने सहमति भएको छ । एक दुई महिना भित्र गर्छौं ।’
उनले जिल्ला अधिवेशनबाट अहिलेको तदर्थ समितिलाई नै पूर्णता दिने योजना रहेको समेत बताए । उनका अनुसार जिल्लाको जगदुल्ला गाउँपालिका, ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा बाहेक अन्य पालिकामा कमिटी नै गठन भएको छैन ।
रास्वपाका एक नेताका अनुसार जिल्लामा संगठन विस्तार तथा सदस्यता व्यवस्थापनको काम जारी रहेकाले तत्काल जिल्ला अधिवेशन नगरी महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ। तर जिल्लाका केही नेता तथा कार्यकर्ताले भने पार्टीले जिल्ला अधिवेशनलाई आवश्यक प्राथमिकता दिन नसकेको बताएका छन्।
रास्वपाले २०७९ को निर्वाचनपछि कर्णालीमा संगठन विस्तारलाई तीव्रता दिए पनि डोल्पामा भने अझै निर्वाचित जिल्ला समिति गठन हुन नसकेको अवस्था छ। जिल्लाका कार्यकर्ताहरूले संगठनलाई थप सक्रिय बनाउन यथाशीघ्र जिल्ला अधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।
कर्णालीको डोल्पा बाहेक ९ जिल्लाको अधिवेशनबाट नेतृत्व चयन भइसकेको छ । दैलेख र रुकुम पश्चिममा निर्वाचनमार्फत तथा अन्य जिल्लामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।











