काठमाण्डौं:सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।


युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए ।
सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेर सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपति पौडेल समक्ष पठाएका थिए ।
सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेर सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपति पौडेल समक्ष पठाएका थिए ।
राष्ट्रपति पौडेलले ८ दिन राखेर विधेयकमार्फत गरिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ (३) बमोजिम पुनर्विचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।
राष्ट्रपति पौडेलले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा पेस गरी निर्णय गरेर राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभाले निर्णय गरेर फेरि प्रतिनिधिसभामा पठाएपछि सभामुख घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था कानुनमा छ ।












