डोल्पा । संगठन नै विस्तार नभएको डोल्पामा पदाधिकारीको हस्ताक्षर सहित राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएको छ ।
रास्वपाले पहिलो पटक डोल्पामा औपचारिक रूपमा संगठन विस्तार सँगै जिल्ला कमिटी गठनको लागि यही वैशाख १५ गते बैठक आह्वान गरेको छ । उक्त दिन नै जिल्ला कमिटी गठन भै सम्पूर्ण कमिटीले आधिकारिकता पाउने रास्वपाले जनाएको छ ।


जिल्ला कमिटी नै नभएको डोल्पामा रास्वपाको जिल्ला कमिटीको दाबी गर्दै विभिन्न अत्यावश्यक विषयमा छलफल गर्ने जानकारी दिँदै बैठक आह्वानको लागि बुधबार पहिलो पत्र सार्वजनिक गर्यो। त्यो पत्रमा पनि पार्टीको नाम देखि अन्य व्यहोरा सँगै घण्टीमित्रहरु भन्दै लेखेको पत्र सार्वजनिक गरेपछि विवाद चुलियो । उक्त विवाद पछि पुनः अर्को पत्र सार्वजनिक भयो त्यो पत्र पनि उस्तै ।

पहिलो पटक सार्वजनिक पत्र
सार्वजनिक सूचनामा ‘सभापति, सचिव, सह-सचिव’ जस्ता पद उल्लेख गर्दै हस्ताक्षरसहित बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।
तर स्थानीय स्रोतका अनुसार डोल्पामा हालसम्म रास्वपाको आधिकारिक जिल्ला कमिटी नै गठन भएको छैन। कमिटीनै गठन नभएको यो अवस्थामा पदाधिकारी दाबी गर्दै सूचना जारी गर्नुले अहिले जिल्लामा रास्वपाको तीव्र आलोचना भइरहेको छ ।

दोश्रो पटक सार्वजनिक पत्र
पत्रमा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहान १० बजे बैठक बस्ने उल्लेख छ भने सम्पर्क व्यक्तिका रूपमा केही नामहरू पनि समावेश गरिएको छ। तर ती व्यक्तिहरूको आधिकारिक हैसियतबारे कहींकति केही जानकारी नआएको स्रोतको दाबी छ।
संगठन नै विस्तार नभएको ठाउँमा आधिकारिकता नपाउदै कमिटीले पद र हस्ताक्षर प्रयोग गरेर गतिविधि गर्नु पार्टी अनुशासनविपरीत राजनीतिक विश्लेषकहरू बताउँछन्।
उक्त विषयमा गत फागुन २१ गतेको चुनावमा रास्वपाबाट डोल्पामा उम्मेदवार बनेका देव सिंह ऐडीले गलत भएको बताए । उनले आधिकारिकता नपाउदै यसरी पद नै किटान गरी हस्ताक्षर सहितको पत्र सार्वजनिक गर्नु गलत भएको जानकारी दिए ।
यता रास्वपाका कर्णाली प्रदेश सभापति मदन खड्काले कमिटी गठन हुनु अघिनै पद र हस्ताक्षरसहितको पत्र सार्वजनिक गर्नु गलत रहेको र त्यसलाई सच्याउन लगाउने जानकारी दिए ।
उनका अनुसार डोल्पामा संगठन विस्तार र कमिटी गठन गर्न यही वैशाख १५ गते छलफलको लागि बैठक बोलाईएको छ । उक्त दिन नै कमिटी विस्तार गरिने र सोही कमिटीले आधिकारिकता पाउने सभापति खड्काले जानकारी दिए ।











