डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ धाउने क्षेत्रमा पहिरोसहितको लेदोका कारण अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।



मंगलबार रातिदेखि परेको अविरल वर्षापछि सडकमा बाक्लो लेदोसहितको पहिरो जमेका कारण बुधबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बन्द हुँदा डोल्पा भित्रिने तथा डोल्पाबाट बाहिरिने सयौँ यात्रु र दर्जनौँ सवारीसाधन घण्टौँसम्म बाटोमै अलपत्र परेका थिए।

सडक अवरुद्ध भएको केही घण्टापछि धाउने क्षेत्रमा सडकबाट पहिरो हटाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनले र सडक पूर्ण रूपमा सुरक्षित बनाउन थप सरसफाइ तथा व्यवस्थापनको काम जारी रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह समेत गरे ।

वर्षायाम सुरु भएसँगै भेरी करिडोरमा पटक-पटक पहिरो र लेदोका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेको छ। यसले डोल्पा भित्रिने र बाहिरिने यात्रु तथा मालवाहक सवारीसाधनलाई हरेक वर्ष सास्ती हुने गरेको छ।













