डोल्पा । हिमाली जिल्ला डोल्पामा जारी दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिका कारण थप रौनकपूर्ण बनेको छ।



यही श्रावण ८ गते शुक्रबारदेखि १८ गतेसम्म ठूलीभेरी नगरपालिका- दुनै बजारस्थित रंगशालामा सञ्चालन भइरहेको महोत्सवमा देशका चर्चित गायकगायिका, मोडल तथा कलाकारहरूको प्रस्तुति रहने भएपछि जिल्लाभर उत्साह छाएको छ।

मूल आयोजक समितिका संयोजक कमल बुढाका अनुसार महोत्सवमा चर्चित गायक प्रकाश सपुत, दुर्गेश थापा, अर्जुन सापकोटा, कमल बि.सी., रामजी खान, सिम्रन परियार, एलिना चौहान, विपना सिंह, कमल बिसि लगायत राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

त्यसैगरी चर्चित मोडल तथा कलाकार गंगु क्षेत्री, ज्योति मगरसहितका कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवमा डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले जिल्लाको मौलिक कला, संस्कृति र परम्परा झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

डोल्पाको पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण, व्यापार व्यवसायको विस्तार तथा जिल्लाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसका साथै स्थानीय कृषि उपज, जडीबुटी, हस्तकला तथा घरेलु उत्पादनहरूको प्रदर्शनी र बिक्री–वितरणका लागि पनि महोत्सव महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकको छ।
ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको संरक्षण र श्री एभरेष्ट इन्टरनेशनल ट्रेड प्रालिको आयोजनामा
सञ्चालन भइरहेको महोत्सवमा हजारौँ दर्शक तथा आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले जनाएको छ ।












