डोल्पा। हिमाली जिल्ला डोल्पामा संयुक्त सुरक्षा चेकजाँचका क्रममा झण्डै ५६ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बगर बजार क्षेत्रमा प्रहरीले सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरेको संयुक्त सुरक्षा चेकजाँचका क्रममा त्रिपुरासुन्दरी नगरपालिका–७ का दुई जनाको साथबाट ठूलो परिमाणमा नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले संयुक्त चेकजाँचका क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको र हाल मुचुल्का उठाउने तथा अनुसन्धानको प्रक्रिया जारी रहेको जानकारी दिए।
‘ठूलो परिमाणमा रकम छ। अन्दाजी आधा करोड हाराहारीमा हुनुपर्छ। दुई जनालाई नियन्त्रणमा लिएका छौं। अनुसन्धान जारी छ। केहीबेरमै रकमको यकिन विवरण र यसको स्रोतबारे जानकारी सार्वजनिक हुन्छ,’ डीएसपी गिरीले भने।
यता प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले लागूऔषध ओसारपसार नियन्त्रणका लागि गरिएको आकस्मिक सुरक्षा चेकजाँचका क्रममा ठूलो रकम फेला परेको बताइन्।
‘यो लागूऔषध ओसारपसार नियन्त्रणसम्बन्धी आकस्मिक चेकजाँच थियो। सोही क्रममा ठूलो परिमाणको नगद फेला परेको हो,’ उनले भनिन्।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार प्रारम्भिक गणनाअनुसार करिब ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ।
प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत, त्यसको वैधानिकता तथा नियन्त्रणमा रहेका व्यक्तिको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।
यसैबीच, स्थानीय स्रोतले नियन्त्रणमा परेका दुई जना त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुखका आफन्त रहेको दाबी गरेका छन्। तर प्रहरीले उक्त विषय आधिकारिक रूपमा पुष्टि गरेको छैन। अनुसन्धानबाट तथ्य स्थापित भएपछि मात्र यसबारे औपचारिक जानकारी दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











