सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार संकटमा परेको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।
बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका एक सांसदले रंगिन पाटीलाई जानकारी दिए।


यस्तै, नेकपाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। नेकपाका एक सांसदका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
कांग्रेस र नेकपाले संयुक्त रूपमा असार ३२ गते प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि बिहीबार प्रदेशसभामा छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ। प्रस्ताव बहुमतबाट पारित भए मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्।
यद्यपि केन्द्रमा सबै प्रदेशमा सत्ता गठबन्धनको स्वरूप, कुन-कुन दलबीच सहकार्य हुने, प्रदेश सरकारको नेतृत्व कसले गर्ने तथा कुन दल सरकार र प्रतिपक्षमा रहने भन्ने विषयमा शीर्ष तहमा छलफल जारी रहेकाले कर्णालीमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन।












