ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहत अनुमोदनदेखि विपद्को पूर्वतयारी सुदृढ गर्ने निर्णय गरेको छ ।

सदरमुकाम दुनैस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ बमोजिम मंगलबार बसेको बैठकले राहत अनुमोदनदेखि विपद्को पूर्वतयारी सुदृढ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

बैठकले गत माघ र वैशाख महिनामा घर आगलागीबाट प्रभावित भएका त्रिपुरासुन्दरी–४ का जनचन्द्र बुढा र त्रिपुरासुन्दरी–५ का विष्णु रोकायलाई जनही २० हजार रुपैयाँ उपलब्ध गराइएको राहत रकम अनुमोदन गरेको छ।

आगामी वर्षायामलाई मध्यनजर गर्दै सम्भावित बाढी तथा पहिरो जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सुदृढ गर्ने निर्णय समेत गरिएको र यसअन्तर्गत संयुक्त सुरक्षा टोलीमार्फत विपद् सम्बन्धी नमूना अभ्यास (ड्रिल) सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।

वर्षातको समयमा जिल्लामा हुनसक्ने विपद् जोखिम कम गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ।

बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको पत्रअनुसार ठुलीभेरीको डाँगीवाडामा एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालयलाई लेखी पठाउने निर्णय समेत गरेको छ।

बैठकमा भेरी करिडोर सडक खण्डका विषयमा पनि छलफल भएको थियो । भेरिकरिडोर अन्तर्गत जाजरकोट- डोल्पा सडकखण्ड अवरुद्ध हुने वा विपद् आएको अवस्थामा तत्काल काम अघि बढाउन नसक्ने तथा अन्य निकायले पहल गर्दा समेत अवरोध आउने समस्या जटिल रहेको भन्दै नेपाली कांग्रेस जिल्लाका पार्टी सचिव हिक्मत शाहीले चासो व्यक्त गरेका थिए ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी हमालले सोमबार जिल्लाको त्रिपुरासुन्दरी-९ मा पर्ने चुगाँड खोलामा ट्रक फस्दा सडक अवरुद्ध भएको घटनाको विषय उठाउँदै विपद् प्रतिकार्यमा स्थानीय तहको सक्रियता नदेखिएको बताइन्। उनले बैठकमा स्थानीय तहले पर्याप्त अग्रसरता नदेखाउँदा विपद् व्यवस्थापनमा असर पर्ने चिन्ता व्यक्त गरिन्।

समितिले गरेका यी निर्णयमार्फत जिल्लामा विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित, समन्वयकारी र प्रभावकारी बनाउने लक्ष्यसहित आगामी दिनमा हुनसक्ने विपद्मा सबै एकजुट भएर लाग्न आग्रहसमेत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP