रुकुम पश्चिम । रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग१च ५२१३ नम्बरको जिप मंगलबार साँझ करिब ५:१५ बजे वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
सडकको भित्तामा ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । प्रारम्भिक रूपमा १९ जना घाइते भएको सूचना आए पनि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पार्दा १२ जना मात्रै घाइते भेटिएको उनले बताए ।


दुर्घटनामा चालक सानीभेरी गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र बिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाडी धनी आठबिसकोट नगरपालिका–८ का हरिबहादुर गैरे भने प्रहरीको सम्पर्कमा रहेका छन् ।
घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ । घाइतेमध्ये आठबिसकोट–१० की ४५ वर्षीया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल र २३ वर्षीय महेन्द्र गैरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूमा आठबिसकोट–१० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन, सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की, वडा नम्बर ९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीया कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मिना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ वर्षीया सीता बिक रहेका छन् ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।











