डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुसी राणाले डोल्पा र माथिल्लो डोल्पाको पीडातर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले डोल्पाको अवस्था अझै पनि अत्यन्तै पछाडि रहेको बताइन् ।



सांसद राणाले डोल्पा नेपालको भूभाग भए पनि त्यहाँका नागरिक आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरिन् । ‘आज पनि डोल्पाका नागरिक दुई शताब्दी पछाडि बाँच्न बाध्य छन् । सडक छैन, अस्पताल छैन, विद्यालय छैन, स्वच्छ खानेपानी पनि छैन।’ उनले भनिन् ।
उनले माथिल्लो डोल्पाका महिलाहरू उपचार नपाएर बच्चा जन्माउनुअघि नै ज्यान गुमाउन बाध्य भएको अवस्था उल्लेख गर्दै राज्यले अझैसम्म कर्णालीका दुर्गम नागरिकको पीडा नदेखेको टिप्पणी गरिन् । ‘हामीले डोल्पाका हिमाल र सुन्दर गाउँका तस्वीर देख्यौं, बालबालिकाको मुस्कान पनि देख्यौं, तर त्यस पछाडिको पीडा कहिल्यै देख्न सकेनौं’ उनले भनिन् ।

सांसद राणाले काठमाडौंमा जन्मिएका नागरिकले अवसर, पहुँच र सुविधा पाउँदा डोल्पामा जन्मिएका नागरिक भने आधारभूत अधिकारकै लागि संघर्ष गर्न बाध्य भएको बताइन् ।
सरकारसँग आग्रह गर्दै राणाले डोल्पाले ‘दायाँ होइन, नेपाली नागरिकको हैसियतले आफ्नो अधिकार’ मागिरहेको बताइन् । आगामी बजेटमार्फत डोल्पामा आधारभूत सडक सञ्जाल, ५० शय्याको अस्पताल, चिकित्सक, स्वच्छ खानेपानी र विद्यालय जस्ता न्यूनतम सेवाको सुनिश्चितता गर्न उनले माग गरिन् ।
‘विकास केवल सहरका लागि होइन, नेपालको अन्तिम गाउँसम्म पुग्नुपर्छ । त्यतिबेला मात्रै हामी साँच्चिकै समावेशी र समृद्ध नेपाल निर्माण गर्न सक्छौं’ उनले भनिन् ।
रास्वपाले केही दिनअघि मात्रै सांसद राणालाई डोल्पाको जिम्मेवारी प्रदान गरेको थियो ।











