डोल्पा। हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक एकै दिन तीन जना गर्भवती आमाको सफल सिजेरियन शल्यक्रिया गरिएको छ।
अस्पतालले आइतबार डोल्पाको स्वास्थ्य सेवाको इतिहासमै पहिलो पटक एकै दिन तीनवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।



अस्पतालका अनुसार अस्पतालका एमडिजिपि डा. विदुर तिवारीको नेतृत्वमा तथा एएसबीए डा. नविन शाहीको सहयोगमा काइके गाउँपालिका-०४ निवासी २४ वर्षीया गर्भवती महिलाको बिहान १०:४५ बजे इलेक्टिभ एलएससिएस विधिबाट २६०० ग्राम तौलको शिशु जन्माइएको थियो। यसअघि पनि ती महिलाले सिजेरियनमार्फत नै बच्चा जन्माएकाले यसपटक पनि सोही विधि अपनाइएको अस्पतालले जनाएको छ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका-०४ निवासी २८ वर्षीया गर्भवती महिलाको दिउँसो १:३५ बजे आपतकालीन एलएससिएस मार्फत २५०० ग्राम तौलको शिशु जन्माइएको थियो। गर्भमै शिशुले दिसा गरेको अवस्थाका कारण आकस्मिक शल्यक्रिया गर्नुपरेको अस्पतालले जानकारी दिएको छ । त्यस्तै अस्पतालले त्रिपुरासुन्दरी नगरपालिका-०२ निवासी २४ वर्षीया गर्भवती महिलाको बेलुका ५:१५ बजे आपतकालीन एलएससिएस विधिबाट ३२०० ग्राम तौलको शिशु जन्माइएको थियो। शिशु गर्भमा तेर्सो अवस्थामा रहेकाले आकस्मिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
तीनवटै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलले शल्यक्रिया सफल पार्न संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्।












