स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २०औँ मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लामिन यामललाई फल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। २२औँ मिनेटमा ओयार्जाबलले उक्त पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।


दोस्रो हाफको ५८औँ मिनेटमा दानी ओल्मोको उत्कृष्ट पासमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता २–० मा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन सहज जितसहित फाइनलमा प्रवेश गर्न सफल भयो।
जारी विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेको फ्रान्स सेमिफाइनलमा भने स्पेनविरुद्ध प्रभाव जमाउन असफल रह्यो। बल नियन्त्रण, सिर्जनात्मक खेल र फिनिसिङमा स्पेनले स्पष्ट रूपमा दबाब कायम राख्दा फ्रान्स निरिह देखियो।
सन् २०१० मा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो। यता, फ्रान्स भने लगातार तेस्रोपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्य पूरा गर्न असफल भएको छ।












