एक समय कर्णालीका गाउँमा विवाहमा जन्तीको भीड लाग्थ्यो, मृत्यु हुँदा मलामीको लाम हुन्थ्यो। अहिले भने त्यही गाउँहरुमा शव बोक्न चार काँध जुटाउनसमेत मुस्किल पर्न थालेको छ। रोजगारी, शिक्षा र बसाइँसराइँका कारण युवा गाउँ छाड्दै गएपछि गाउँहरू बिस्तारै वृद्ध, महिला र बालबालिकामा सीमित हुँदै गएका छन्।
यसको असर अब जनसंख्या घट्नुमा मात्रै सीमित छैन, पुस्तौँदेखि चलिआएका सामाजिक संस्कार र सामुदायिक जीवनमा समेत स्पष्ट देखिन थालेको छ। केही दिनअघि जाजरकोटको शिवालय गाउँपालिका-०३ की ओढ कामीको बिरामीका कारण मृत्यु भयो। परिवार शोकमा थियो। तर अन्तिम संस्कारका लागि शव मसानघाटसम्म पुर्याउन मलामी जुटाउनु नै सबैभन्दा ठूलो चुनौती बन्यो।
गाउँमा पर्याप्त पुरुष नभएकाले शव बोक्ने काँध खोज्न परिवार र छिमेकीले निकै सास्ती खेप्नुपर्यो। अन्ततः गाउँमा रहेका थोरै स्थानीयको सहयोगमा मात्रै अन्तिम संस्कार सम्भव भयो। यो घटना एउटा परिवारको मात्र कथा होइन। कर्णालीका धेरै गाउँमा अहिले विवाहमा जन्ती र मृत्युमा मलामी जुटाउनसमेत कठिन हुन थालेको छ।
रोजगारी, शिक्षा र बसाइँसराइँका कारण युवा गाउँ छाड्दै गएपछि गाउँहरू सुनसान बन्दै गएका छन्। शिवालय गाउँपालिका-०३ का तिलक थापा गाउँमा काम गर्ने उमेरका पुरुष नै दुर्लभ बन्दै गएको बताउँछन्। ‘एउटा मान्छे मर्दा शव बोक्ने मलामी नै पाइँदैन। गाउँमा युवा एक–दुई जना मात्रै छन्। अधिकांश रोजगारीका लागि बाहिर गएका छन्, केही बसाइँ सरेका छन्,’ उनले भने।
जाजरकोटको जुनीचाँदे गाउँपालिका-०३ का विनोद खड्काको अनुभव पनि उस्तै छ। उनका अनुसार गाउँका अधिकांश युवा भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि गएका छन्। ‘गाउँमै रोजगारी हुने हो भने कसलाई घर छाड्न मन लाग्छ र ? काम नपाएपछि बाध्य भएर बाहिर जानुपरेको हो। अहिले दशैं–तिहारमा मात्रै गाउँ भरिभराउ देखिन्छ,’ उनले भने।
गाउँमा बुढापाका मात्रै
कर्णालीका अधिकांश गाउँ अहिले वृद्ध, महिला र बालबालिकामा सीमित हुँदै गएका छन्।
छेडागाड नगरपालिका–५ का प्रेम विक भन्छन्, ‘मेरो छोरा काठमाडौंमा पढ्छ, छोरी सुर्खेतमा। गाउँका धेरै घरको अवस्था यस्तै छ। यहाँ हामीजस्ता बुढापाका मात्रै बाँकी छौँ।’ दैलेखका रामबहादुर शाहीका अनुसार युवाको उपस्थिति गाउँमा चाडपर्वमा मात्रै देखिन्छ। ‘दशैं–तिहारमा आउँछन्, फेरि फर्किहाल्छन्। अहिले सबै गाउँको अवस्था उस्तै छ,’ उनले भने। दैलेखको चामुण्डाकी लक्ष्मी कार्कीका लागि चाडपर्व अब केवल टीका र जमराको पर्व होइन, छोराछोरीसँग भेट हुने अवसर बनेको छ।
‘हामी बुढाबुढी मात्रै छौँ। छोराछोरी वर्षमा एकपटक आउँछन्। अहिले त आफ्नै छोराछोरी पनि पाहुनाजस्तै लाग्न थाले,’ उनले भावुक हुँदै भनिन्।
विकास निर्माणमा पनि असर
युवाको अभावले सामाजिक संस्कार मात्रै होइन, विकास निर्माणसमेत प्रभावित भएको छ।
शिवालय गाउँपालिका-०३ को तांगाचुलीस्थित मालिका मन्दिर निर्माण श्रमिक अभावकै कारण निर्धारित समयमै सम्पन्न हुन सकेन। निर्माण समितिका अध्यक्ष दिल बुढाले भने, ‘काम गर्ने मान्छे नै पाइँदैन। गाउँका धेरै बाहिर गएका छन्। भएका पनि गाउँमै काम गर्न रुचाउँदैनन्, तर भारतमा भने जुनसुकै काम गर्न तयार हुन्छन्।’
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-०१ का बुद्धि सार्कीका अनुसार त्यहाँका धेरै निर्माण आयोजनामा सल्यान, रुकुम र जाजरकोटबाट श्रमिक ल्याउनुपर्ने अवस्था छ। स्थानीय जनशक्ति अभाव भएपछि बाहिरी जिल्लाका मजदुरको भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए।
आफ्नै गाउँमा काम गर्न हिच्किचाहट
शिवालय गाउँपालिका–८ का वडाध्यक्ष जसबिर वली युवाको सोचप्रति चिन्ता व्यक्त गर्छन्। ‘गाउँमा विकास निर्माणको काम गर्न युवाहरू आउँदैनन्। आफ्नै गाउँमा काम गर्न लाज मान्छन् कि जस्तो लाग्छ। बाहिर गएर भने जुनसुकै काम गर्छन्,’ उनले भने। शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार बसाइँसराइँ र वैदेशिक रोजगारीले गाउँको सामाजिक संरचनामै असर पारेको छ।
पालिकाले कृषि र स्वरोजगारका कार्यक्रम सञ्चालन गरे पनि धेरै युवा गाउँमै बस्न इच्छुक नभएको उनको भनाइ छ। ‘कृषिलाई आधुनिक, व्यावसायिक र आम्दानीमुखी बनाउन सकियो भने युवालाई गाउँमै रोक्न सकिन्छ। अहिले गाउँ रित्तिँदै जानु निकै चिन्ताको विषय हो,’ उनले भने।
सबै गाउँको अवस्था उस्तै छैन
कर्णालीका सबै गाउँ भने युवाविहीन बनेका छैनन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-०४ का हेमराज बुढाका अनुसार त्यहाँका अधिकांश युवा गाउँमै बसेर यार्सागुम्बा संकलन, कृषि तथा अन्य स्थानीय पेसाबाट आम्दानी गरिरहेका छन्। ‘हामीतिर विदेश जाने चलन खासै छैन।
यार्सागुम्बा, कृषि र अन्य स्थानीय पेसाबाटै आम्दानी हुने भएकाले गाउँमा युवाको अभाव छैन,’ उनले भने। कर्णालीका धेरै गाउँमा भने युवाको पलायनसँगै सामाजिक संस्कारदेखि विकास निर्माणसम्म प्रत्यक्ष असर देखिन थालेको छ।
एक समय जन्ती र मलामीले भरिने गाउँहरू अहिले चाडपर्वमा मात्रै केही दिनका लागि जीवन्त देखिन्छन्। बाँकी समय भने गाउँमा बुढापाका, महिला र बालबालिकाको उपस्थिति मात्रै बाक्लो देखिन्छ।














