फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच भोलि (शनिबार राति/आइतबार बिहान) प्रतिस्पर्धा हुने भएको छ। अमेरिकाको मियामीस्थित रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान २ः४५ बजे सुरु हुनेछ।
सेमिफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्यान्ड तेस्रो स्थान हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रिन लागेका हुन्।


तेस्रो स्थानको यो खेलले प्रतियोगिताको उत्कृष्ट गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’को दौडमा पनि प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङहम अझै गोल्डेन बुटको प्रतिस्पर्धामा छन्।

हाल अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान आठ–आठ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। यद्यपि, समान गोल भए पनि बढी असिस्ट गरेका कारण मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्।
इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गरेका छन् भने फ्रान्सका उस्मान डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा पाँच–पाँच गोल रहेको छ।
यसैबीच, विश्वकपको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीचको फाइनल खेल आइतबार मध्यराति नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ।












