फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित एडिडास गोल्डेन बुट अवार्डको दौड झन् रोमाञ्चक बनेको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी अहिले शीर्ष स्थानमा उक्लिएका छन्।
एटलान्टामा बिहीबार बिहान भएको सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। उक्त खेलमा मेसीले दुई असिस्ट गर्दै आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।


हाल मेसी र फ्रान्सका कप्तान केलियन एम्बाप्पे दुवैले समान आठ–आठ गोल गरेका छन्। तर असिस्टमा मेसी अगाडि छन्। मेसीको नाममा चार असिस्ट रहँदा एम्बाप्पेले तीन असिस्ट मात्र गरेका छन्। यही कारण मेसी अहिले गोल्डेन बुटको अग्रस्थानमा पुगेका हुन्।

अब गोल्डेन बुटको अन्तिम निर्णय प्रतियोगिताको अन्तिम खेलपछि हुनेछ। अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग भिड्दै गर्दा फ्रान्स र इंग्ल्यान्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
यदि तेस्रो स्थानको खेलमा एम्बाप्पेले गोल वा असिस्ट थप्न सकेनन् भने मेसी स्वतः गोल्डेन बुट विजेता बन्नेछन्। तर एम्बाप्पेले आफ्नो गोल वा असिस्ट संख्या बढाए मेसीमाथि दबाब थपिनेछ।

गोल्डेन बुटको प्रतिस्पर्धामा अन्य खेलाडी पनि छन्। नर्वेका एर्लिङ हाल्यान्ड सात गोलसहित टोली बाहिरिएपछि थप गोल गर्ने अवसरबाट वञ्चित भएका छन्। इंग्ल्यान्डका जुड वेलिंघम र ह्यारी केनले समान छ गोल र एक असिस्ट गरेका छन्। फ्रान्सविरुद्ध तेस्रो स्थानको खेलमा उनीहरूले उत्कृष्ट प्रदर्शन गरे शीर्ष स्थानमा पुग्ने सम्भावना अझै बाँकी छ।
यस्तै, फ्रान्सका औसमाने डेम्बेले र स्पेनका मिकल ओयरजाबाल पाँच-पाँच गोलसहित प्रतिस्पर्धामा छन्। यद्यपि उनीहरूलाई गोल्डेन बुट जित्न असाधारण प्रदर्शन आवश्यक पर्नेछ।
फिफाको नियमअनुसार यदि दुई वा बढी खेलाडीको गोल र असिस्ट संख्या बराबर भएमा कम समय खेलेको खेलाडीलाई गोल्डेन बुट प्रदान गरिने व्यवस्था छ।
फाइनलअघि गोल्डेन बुटको दौड उत्कर्षमा पुगेको छ, जहाँ मेसीको अनुभव र एम्बाप्पेको चुनौतीबीच विश्व फुटबलको अर्को रोमाञ्चक प्रतिस्पर्धा हेर्न बाँकी छ।













