पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालबाट १६ हजार भन्दा बढी नागरिकले बहिरङ्ग सेवा लिएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै अस्पतालदेखि १६ हजार ८६२ जनाले बहिरङ्ग (ओपीडी) सेवा लिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार बहिरङ्ग सेवा सँगै ७७३ जना बिरामी भर्ना (अन्तरङ्ग) सेवा प्राप्त गरेका छन्। त्यस्तै, १५७ वटा सुरक्षित प्रसूति, ३० वटा शल्यक्रिया, ५ हजार २३९ वटा प्रयोगशाला परीक्षण तथा ११२ जना बिरामीको रेफर गरिएको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अजयप्रसाद पाण्डेले जानकारी दिए ।


उनका अनुसार पछिल्ला वर्षहरूमा अस्पतालको सेवा विस्तार भएसँगै सामान्यदेखि केही जटिल प्रकृतिका बिरामीले समेत जिल्लामै उपचार पाउन थालेका छन्। यसले उपचारका लागि नेपालगञ्ज, सुर्खेत वा काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म घटेको उनले बताए ।

अस्पतालमा हाल आकस्मिक सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, सुरक्षित मातृत्व, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे, अल्ट्रासोनोग्राफी, अस्पताल फार्मेसी, खोप, परिवार नियोजन, पोषण तथा मातृ–शिशु स्वास्थ्य सेवा नियमित सञ्चालनमा छन्। साथै टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श दिने व्यवस्था पनि सुरु गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रशासनका अनुसार तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८७२ जनाले टेलिमेडिसिन सेवा, २ हजार ४४० जनाले एक्स–रे, १ हजार ९०२ जनाले डिजिटल भिडियो एक्स–रे, ४४५ जनाले मुटुको विद्युत् परीक्षण (ईसीजी) तथा ६१ जनाले मुटुको प्रतिध्वनि परीक्षण (इको) सेवा लिएका छन्। त्यसैगरी ८ हजार १७६ जनाले अस्पताल फार्मेसीबाट औषधि सेवा प्राप्त गरेका छन्।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलका अनुसार सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिइरहेको छ। अहिले हर्निया, एपेन्डिक्स, हाइड्रोसिल, पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) लगायतका शल्यक्रिया नियमित रूपमा सञ्चालन भइरहेका छन् भने सिजेरियन प्रसूति सेवासमेत प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए ।
डोल्पा जिल्ला अस्पताल आठवटै स्थानीय तहका नागरिकका लागि प्रमुख सरकारी रेफरल अस्पतालका रूपमा रहेको छ। विकट भूगोलका कारण कतिपय बिरामी अझै पनि एकदेखि तीन दिनसम्म पैदल यात्रा गरेर अस्पताल पुग्न बाध्य भए पनि अस्पतालमा सेवा विस्तार भएसँगै जिल्लामै उपचार पाउने बिरामीको संख्या वर्षेनी बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

यद्यपि विशेषज्ञ चिकित्सकको अभाव, सीमित शय्या, आधुनिक उपकरणको कमी, रक्त सञ्चार सेवा नहुनु तथा विकट भूगोलका कारण स्वास्थ्य सामग्री ढुवानीमा हुने समस्या अस्पतालका मुख्य चुनौतीका रूपमा रहेका छन्।
अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको र आवश्यक जनशक्ति तथा पूर्वाधार थपिएमा जिल्लामै अझ प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।












