बाँके। बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
नरैनापुर गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइमा आर्थिक वर्षभरि गाउँपालिकाले सम्पादन गरेका काम, प्रगति तथा मुख्य उपलब्धिहरू सार्वजनिक गरिएको थियो।


कार्यक्रममा सहभागी तथा सरोकारवालाबीच दोहोरो प्रश्नोत्तरसमेत भएको थियो।

झण्डै अढाई घण्टा चलेको सार्वजनिक सुनुवाइको अन्त्यमा पाँचबुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ।
प्रतिबद्धताअनुसार पालिकाले समग्र शैक्षिक गुणस्तर सुधारका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्ने, शिक्षासम्बन्धी समस्याको समाधान गर्दै जाने, हुलाकी राजमार्गलगायत सडक अतिक्रमण हटाउन आवश्यक पहल गर्ने तथा नियमित अनुगमन गर्ने जनाएको छ।

यस्तै, वडा नं. ३ जनतापुर–रतैया सडकको स्तरोन्नतिका लागि आवश्यक पहल गर्ने, निर्माण सम्पन्न हुन बाँकी सडकहरूलाई नयाँ आर्थिक वर्षमा प्राथमिकताका आधारमा निर्माण अघि बढाउने, कृषकका लागि मलखादको व्यवस्थापन गर्ने, स्वास्थ्य चौकीमा निःशुल्क औषधिको अभाव हुन नदिने तथा पालिका र वडा स्तरमा नियमित सार्वजनिक सुनुवाइ सञ्चालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि गरिएको छ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा संस्थाका निर्देशक हेमराज भट्टले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले चालु आर्थिक वर्षमा गाउँपालिकाले गरेका गतिविधि, प्रगति र उपलब्धिबारे जानकारी गराएका थिए।

सार्वजनिक सुनुवाइअघि गरिएको नागरिक प्रतिवेदन पत्र तथा बहिर्गमन अभिमत पत्रको नतिजा बास नेपालका जनसम्पर्क अधिकृत माधवकुमार कार्कीले सार्वजनिक गरेका थिए। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा लक्षित वर्ग उत्थान कार्यक्रमसँग सम्बन्धित दर्जनौँ प्रश्न, जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

उठेका प्रश्न तथा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुरेश कोइराला तथा विभिन्न विषयगत शाखाका प्रमुखहरूले दिएका थिए।












