लाल बहादूर बूढा/ डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा पूर्ण सरसफाइ तथा सुरक्षित सरसफाइ कार्ययोजना निर्माण सम्बन्धी समीक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
बुधबार सबैको लागि दिगो खानेपानी तथा सरसफाई कार्यक्रम सहयोग इकाई वीरेन्द्रनगर, सुर्खेतको सहजीकरण तथा मुड्केचुला गाउँपालिका वास युनिटको आयोजनामा गाउँपालिकाको सभाहलमा पूर्ण सरसफाइ तथा सुरक्षित सरसफाइ कार्ययोजना निर्माण सम्बन्धी समीक्षा कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्ण सरसफाइ तथा सुरक्षित सरसफाइ कार्ययोजना निर्माणसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणमा मुड्केचुला गाउँपालिका वास युनिटका शाखा प्रमुख शुकबिर रोकाय, स्वास्थ्य शाखा प्रमुख शम्भु मोरिक यादव तथा प्रशासन शाखाका दुर्गाप्रसाद रिजालले सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा मानव मलमूत्रजन्य फोहोर व्यवस्थापनको महत्व, स्वस्थ तथा गुणस्तरीय जीवनशैली, वातावरण संरक्षण तथा मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि आवश्यक सेवा र सुधारका उपायबारे विस्तृत जानकारी गराइएको वास इकाई शाखाका प्रमुख रोकायले जानकारी दिए ।
साथै, सरसफाइलाई समग्र स्वास्थ्य र दिगो विकाससँग जोडिएको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्दै स्थानीय तहलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन सरसफाइको अवधारणाबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूबीच खुला दिसामुक्त अवस्थाबाट पूर्ण सरसफाइतर्फको यात्रालाई प्रभावकारी बनाउने उपाय, मानव मलमूत्रजन्य फोहोर व्यवस्थापनको आवश्यकता र महत्व, स्वच्छ खानेपानी, महिनावारी स्वच्छता व्यवस्थापन, शौचालयको उचित प्रयोग तथा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमले मुड्केचुला गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त तथा सुरक्षित वातावरणयुक्त स्थानीय तहका रूपमा विकास गर्न आवश्यक कार्ययोजना निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण आचार्यले जानकारी दिए ।












