ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

पोखरा। आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउन लागेको पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन र दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ।

आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका पदाधिकारीसँग भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई स्थायित्व दिने गरी तयारी भइरहेको बताए। उनले उडान सफल बनाउन स्थानीयवासी, निजी क्षेत्र र सरोकारवालाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

शाहीका अनुसार पोखरा–दुबई सिधा उडान सञ्चालन भएपछि गण्डकी प्रदेश तथा आसपासका यात्रुले दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोसहित विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तरराष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। फ्लाइ इमिरेट्सका नेपालस्थित महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन रूपमा सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडान नियमित र सफल बनाउन सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

भेटका क्रममा रेवान पोखरा र फ्लाइ दुबईका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य, अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। कम्पनीले उडान तालिका सार्वजनिक गर्दै सुरुमा दैनिक एक उडान गर्ने र सन् २०२७ को मार्च २६ सम्मका लागि टिकट बुकिङ खुला गरिसकेको जनाएको छ।

यसअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन व्यवस्थाको उच्चस्तरीय निरीक्षण गरेको थियो। सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेसँगै फ्लाइ दुबईले उडान अनुमति पाएको हो।

पर्यटकीय राजधानी पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु भएपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन्। झन्डै २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP