स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।



मृत्यु हुनेमा वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय विनोद अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको उपचारका क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको ट्रकले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ट्रक चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय वालिङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।













