ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

स्वर्गीय बुबा डोसे सार्की र आमा मनकुमारी सार्कीको कोखबाट कान्छो सन्तानको रूपमा २०४३ साल भाद्र ७ गतेका दिन विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ त्रिपुराकोटमा जन्मिएका मन् बहादुर सार्की सोही गाउँमा अवस्थित हिमज्योति आधारभूत विद्यालयको प्रधानाध्यापक हुन। निकै संघर्ष अनि मिहिनेत सगै दुःख कष्ट गर्दै २०७१ साल भाद्र २ गते शिक्षक सेवा आयोगको सम्पूर्ण चरण पूरा गरी प्रावि तृतीय श्रेणीमा नियुक्ति भएर शिक्षक बनेका उनी अहिले आफूले सानोमा पहिलो पल्ट कखरा सिकेको विद्यालयमा प्रधानाध्यापक छन्। उनै मन बहादुर सार्की सग जनचासो कर्मी पुर्ण सार्कीले गरेका सङ्घर्ष अनि सफलताका कुरा:

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनु हुन्छ?

मेरो बाल्यकाल सामाजिक, सांस्कृतिक, आर्थिक र शैक्षिक पक्षबाट पछि पारिएको, राज्यको मूल प्रवाहबाट विमुख गरिएका निम्न वर्गीय परिवारमा जन्मिएकोले निकै कठिन, संघर्षपूर्ण र अविस्मरणीय रह्यो। हामीले गाईगोरु र बाख्रा पालेका थियौँ, य ही मेहनती परिवेशमा मेरो बाल्यकालको सुरुवात भयो।

मेरो वुवाको सकारात्मक सोचका कारण त्रिपुरा प्रा.वि. (अहिलेको मावि)काटियाचौरमा मलाई भर्ना गर्नुभयो। तर विद्यार्थी जीवनमा मैले निकै पीडा भोग्नुपर्‍यो। कथित उपल्लो जातका बालबालिकालाई स्कुलसम्म काँधमा चढाएर लैजानुपर्ने, उनीहरूको रोटी छोएर हामीले खानुपर्ने, अपमानजनक नामले बोलाइनुपर्ने र कहिलेकाहीँ कुटाईसम्म सहनुपर्ने बाध्यता थियो।

सानैदेखि इखालु स्वभावका कारण विद्यालयमा पढ्दा यस्ता व्यवहार सहन नसकी मैले केही समय विद्यालय जान छाडें र घरमा भएका गाईगोरु चराउन ग्वाला(गोठालो) जान थालें। घर फर्किंदा बेलुकी खानेकुरा समेत नपाइने, मकैको झरेको भात खाएर दिन कटाउने अवस्था थियो। च्यातिएको लुगा टालटुल पारेर लगाउनुपर्दाको पीडा अझै ताजै छ।म घरको कान्छो छोरा भएकाले वुवा, आमा, दाजु-दिदीहरूको माया थोरै विशेष पाइन्थ्यो। वि.सं. २०५१ साल बैशाख ५ गते तत्कालीन गा.वि.स. उपाध्यक्ष लक्ष्मी सार्की र मेरो बुवाको पहलमा गाउँकै दलित समुदायका विद्यार्थी मात्रै पढ्न मिल्ने श्री हिमज्योती प्राथमिक विद्यालयको (अहिलेको आवि)स्थापना भयो। म त्यस विद्यालयको पहिलो विद्यार्थी थिएँ र कक्षा १ देखि ३ सम्म अध्ययन गरें। त्यसपछि फेरि त्रिपुरा प्रा.वि(मावि) मा कक्षा ४ र ५ अध्ययन गरें।

नजिकै उच्च शिक्षा सम्म पढ्ने विद्यालय नहुँदा कक्षा ६ देखि १० सम्म जनप्रभा उ.मा.वि. लिकुमा पढें र तत्कालीन त्रिपुराकोट गा.वि.स.को पहिलो दलित विद्यार्थीको रूपमा एस.एल.सी. उत्तीर्ण गर्ने सौभाग्य पाएँ। द्वन्द्वकाल, सामाजिक अज्ञानता र पारिवारिक गरीबीबीच संघर्ष गर्दै म उदाहरणीय बन्न सफल भएँ।

दुर्भाग्यवश, मेरो एस.एल.सी. पछि उच्च शिक्षाको तयारीकै बेला पिताको असामयिक निधनले जीवनमा ठूलो असर पारेको थियो। आफैं कमाउँदै पढ्दै गरेर उच्च शिक्षा लिकु बाट पूरा गरें। स्नातक डोल्पो क्याम्पस डोल्पाबाट र स्नातकोत्तर महेन्द्र बहुमुखी क्याम्पस, बाँकेबाट हासिल गरें। यो बीचमा निकै संघर्ष र मिहिनेत गर्नु पर्यो। आज यो यात्राको स्मरण गर्दा मेरा पिता, माता, दाजु, दिदी, भिनाजु र सबै गुरुप्रति उच्च सम्मान र हार्दिक नमन व्यक्त गर्दछु।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो?  

सुरु सुरुमा मलाई के बन्ने भन्ने लक्ष्य नै थाहा थिएन ? पछि विस्तारै विद्यार्थी जीवनमा पहिलो लक्ष्य सरकारी कर्मचारी भई कुनै पनि कार्यलयको हाकिम बनेर सामाज सेवा गर्छु भन्ने मानसिकता बनाए। आर्थिक विपन्नता र गरिबीका कारण जिल्ला बाहिर गएर पढ्न सकेन।

शिक्षक बन्ने निर्णय कसरी गर्नुभयो ?

विद्यार्थी काल देखी हाम्रो समाजमा भएका विकृती रुढीबाध अन्धविश्वास, कुसंस्कारलाई देखेर मुटु जलेर भित्रबाट आउथ्यो। विशेष गरेर सिंगो गाउँको सार्की समुदाय जातीय विभेदको चपेटामा परेको थियो। यसलाई कसरी अन्त्य गर्ने भन्ने कौतुहलता सधैं मनमा लागीरहन्थ्यो । सानै देखी आफु सिकेर अरुलाई सिकाउने विचार र स्वभाव भएकाले होला विभिन्न सामाजिक सघ-संस्थामा आवद्ध भई गाउ समुदायमा शिक्षाको बारेमा चेतना दिने गरियो ।त्यसै फलस्वरुप समाज परीवर्तनको प्रमुख बाटो भनेको शिक्षा नै भएको महशुस गरी शैक्षिक अभियान्ताको रुपामा शिक्षक बन्ने निर्णय गरे । मेहनतका साथ शिक्षक बन्ने लक्ष्य वास्विकतामा परिणत भयो ।

शिक्षक देखि प्रअ बन्ने सम्म पढाईको यात्रा कस्तो रह्यो ?

पढाइको यात्रा सजिलो पक्कै थिएन। गरिब परिवारमा जन्मेका कारण, दैनिक आटो र पिठो खाँदै करिब दुई घण्टा टाढा रहेको जनप्रभा माध्यमिक विद्यालय, लिकु डोल्पाबाट विभिन्न चुनौतीहरू सामना गर्दै माध्यमिक शिक्षा हासिल गरें। त्यसपछि काम गर्दै पढ्ने क्रममै डोल्पो क्याम्पस, डोल्पाबाट स्नातक तहको अध्ययन सम्पन्न गरें।

पढाइका क्रममा चिरपरिचित शुभचिन्तक तथा विशिष्ट व्यक्तित्वहरूबाट प्रेरणा लिँदै सामाजिक संघ–संस्थामा अस्थायी प्रकृतिका जागिरहरूमा संलग्न रहँदै शिक्षण पेशामा प्रवेश गरें। शिक्षण पेशामा आबद्ध रही करिब आठ वर्ष सहायक शिक्षकका रूपमा कार्य गरेँ। यो बीचमा शिक्षण पेशामा सुरुमा नियुक्ती लगेको मिती देखि २०७१ भदौ २ गते श्री माहादेव नि.मा.वि थापा गाउँ जगदुल्ला देखि मेरो शिक्षकको यात्रा सुरु भयो। त्यसपछि २०७२ साल श्रावण २२ देखी २०७६ साउन सम्म माथिल्लो डोल्पाको श्री शहिद धर्मभक्त नि.मा.वि नाम्दो साल्दाङमा पढाए। त्यसपछि पुन सरुवा लिएर आफ्नै ठाउँ अनि आफू पढेको स्कूल त्रिपुरा मा वि काटीयाचौरमा सहायक प्र.अको रुपमा २०७६ श्रावण २० देखी २०८० श्रावण १६ सम्म सोही विद्यालयमा बसे। २०८० श्रावण देखी चाहिँ म जन्मेको गाउँ अनि ठाउँ मैले आफै कखरा सिकेको विद्यालयमा, कालो पाटीमा अक्षर लेख्न सिकेको विद्यालय श्री हिमज्योती आधारभूत विद्यालयमा विगत दुई वर्ष देखि प्रधानाध्यापकको भूमिका सहित शिक्षण गर्दै आइरहेको छु। पढाइको यात्रामा जागिरले पढाइको आवश्यकतालाई पूरा गर्न र पारिवारिक समस्याहरू समाधान गर्न ठूलो सहजता पुर्‍याएको छ।

समाजमा अझै पनि शिक्षक प्रति हेर्ने दृष्टिकोण फरक छ नी?

मानिस सामजिक, चेतनशिल र विवेकशिल प्राणीको रुपामा मात्र नभई सर्वश्रेष्ठ प्राणीको रुपमा चिनिन्छ तर अचेतनसहितको ब्यवहार प्रर्दशन गर्ने गर्दछ । मन मस्तिष्कमा असल कार्य गरु भन्छ ठीक विपरीत उसले ब्यवहारमा गलत कार्य गर्दै जान्छ फलस्वरुप समाजलाई कार्य गर्न र चेतनासहितको ब्यवहारको सदमार्ग देखाउने गुरुको रुप शिक्षक नै हो । शिक्षकले ब्यक्तिको भविष्य निधारण गर्दछ ।काचो माटोलाई बनाएर फरक रुप धारण गरिदिन्छ । राज्य ब्यवस्थामा आवश्यक पर्ने विभिन्न महत्वपूर्ण तह तप्कामा स्थापित गर्दछ । विडम्बना के छ भने मान्छे जति शिक्षित बन्दै गयो म त आफै बनेको हुँ मैलै कसैबाट शिक्षा लिएको होइन भन्ने महशुस गरी आफैले पढाएको विद्यार्थीैले अभिवादनको सम्मान समेत नगरिएको पाइन्छ ।अर्कातिर अभिभावकले शिक्षकलाई गोठालोको रुपमा अपमान

जनक ब्यवहार गरेको देखिन्छ । वास्तवमा शिक्षकलाई राज्य पक्षबाट मर्यादित रुपमा सबै भन्दा उच्च तहको हैसियत हेर्नु पर्ने हो त्यसको ठीक विपरीत राज्य र समाजले शिक्षकलाई तल्लो दर्जा को रुपमा अपहेलित दृष्टिकोणले हेर्ने गरेको पाइएको छ ।

आफै पढेको स्कूलमा पढाउँदा वा प्रधानाध्यापकको भूमिकामा रहँदा कस्तो अनुभूति हुन्छ?

बाल्यकाल देखी आफु पढेको विद्यालयमा शिक्षकको रुपमा पढाउन पाउदा र प्रधानाध्यापकको भूमिकामा रहँदा आफै विद्यार्थी हुदा गरेका क्षणहरु याद आउँछ अहिले आफुनै विद्यार्थी भएको जस्तो अनुभूती भएको छ । आफले अध्ययन गरेको विद्यालयमा शिक्षकको भूमिकामा रही सेवा गर्न पाउँदा जीवनको एक भाग्यशाली ब्यक्ति भएको महशुस हुनुको साथै हृदय देखी नै खुशी अनि गौरब लागेको छ ।

तपाईंको भावी योजना के छ?

शिक्षण पेशालाई समाज परिवर्तनको एक महत्वपुर्ण चालकको भूमिका खेली आफु जन्मेको गाउँ,समाज र समुदायलाई समय सान्दर्भिक ज्ञान,सीप र क्षमताको विकास गराई एक नमूना योग्य समानता र समतामूलक समाज निर्माण गर्ने भावि योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP