डोल्पा: जेठ ५ गतेदेखि सुरु भएको यार्सागुम्बा संकलन सिजनसँगै डोल्पा जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। शिक्षक र विद्यार्थीहरु नै बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न उच्च हिमाली क्षेत्रतर्फ लागेपछि हरेक वर्षझैँ यसपालि पनि पठनपाठन ठप्प भएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका अनुसार जिल्लाका ११६ विद्यालयमध्ये धेरैजसो अहिले बन्द छन्। यार्सागुम्बा संकलन सिजन झन्डै दुई महिनासम्म चल्ने भएकाले यस अवधिमा शिक्षण कार्यमा ठूलो अवरोध आउने गरेको छ।


तर, त्रिपुरासुन्दरी नगरपालिकाका केही विद्यालय भने यार्साको प्रभावबाट जोगिएका छन्। नगरपालिका वडा नं. १ स्थित त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरमा हाल पनि नियमित पठनपाठन भइरहेको प्रधानाध्यापक तुलबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार हाल विद्यालयमा दैनिक करिब १०० विद्यार्थीको उपस्थिति रहेको छ।
‘शिक्षक नियमित छन्, विद्यार्थी पनि आइरहेका छन्। यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित हुँदैन,’ बिष्टले भने, ‘अन्य विद्यालय पनि खुला राख्नुपर्छ भन्ने हाम्रो धारणा छ।’ उनले यार्सा सिजनमा विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा ठूलो असर पर्ने र खाजा खर्च समेत नगरपालिकाले पठाउन नहुने बताए।
यस्तै, वडा नं. १ कै हिमज्योति आधारभूत विद्यालय र वडा नं. ९ को जनप्रिय आधारभूत विद्यालय चुँ , नगरपालिका भित्र कै कान्जिराेवा आवि र पृथ्वीनारायण आविमा पनि पठनपाठन नियमित रुपमा सञ्चालन भइरहेको छ।विद्यालयमा साना विद्यार्थी भएको र उनीहरू नियमित रूपमा आउने गरेकाले यार्साको प्रभाव नपरेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन्।
डोल्पाका विद्यालयहरूमा करिब साढे १४ हजार विद्यार्थी अध्ययनरत छन्। तर, यार्सागुम्बा संकलन डोल्पाली जनताको प्रमुख आम्दानी स्रोत भएकाले धेरै अभिभावकहरु बालबालिकासहित पाटन जान बाध्य हुन्छन्। स्थानीय शिक्षक र विद्यार्थीहरू समेत यार्सा टिप्न जानाले विद्यालय बन्द हुनुपर्ने बाध्यता आएको हो।











